काठमाडौं– सरकारले अहिलेसम्म करिब ९८ लाख डोज खोप ल्याएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म ९७ लाख ८२ हजार डोज खोप नेपाल ल्याइसकेको छ।
यस्तै आगामी माघ महिना सम्ममा ४ करोड २५ लाख डोज खोप नेपाल आइपुग्ने मन्त्रालयले जनाएको छ।
यसअघि आइसकेको ९७ लाख ८२ हजार खोपसहित आगामी माघ महिनासम्ममा नेपालमा ५ करोड २२ लाख ८२ हजार खोप आइसक्ने मन्त्रालयको भनाइ छ।
स्वास्थ्यराज्य मन्त्री उमेश श्रेष्ठका अनुसार आगामी असोजसम्ममा १ करोड २ लाख र पुस माघसममा ३ करोड २३ लाख गरी ४ करोड २५ लाख खोप नेपाल ल्याइँदै छ।
सरकारले यी खोप केही अनुदान, केही खरिद र केही लागत सहभागितामा ल्याउन लागेको हो।
स्वास्थ्य मन्त्रालयका अनुसार असोजसम्ममा प्राप्त हुने १ करोड २ लाख डोज खोप मध्ये अष्ट्राजेनिकाको १६ लाख खोप जापान सरकारले र भेरोसेल १६ लाख डोज चीन सरकारले अनुदानमा उपलब्ध गराउँदै छ।
नेपाल सरकार आफैंले साइनोफार्म चीनमा उत्पादित भेरोसेल ६० लाख डोज र भारतमा उत्पादित कोभिसिल्ड १० लाख डोज खरिद गर्दै छ।
यस्तै पुस वा माघसम्ममा नेपाल आइपुग्ने आलन गरिएको ३ करोड २३ लाख डोज खोप पनि केही अनुदान र केही सरकार आफैंले खरिद गरेर ल्याउँदै छ। जसमा अमेरिकामा उत्पादित मोर्डना खोप ४० लाख डोज नेपाल ल्याउन सरकारले विश्वबैंक मार्फत भुक्तानी दिइसकेको छ। यस्तै अमेरिकाकै फाइजरको खोप ६० लाज डोज पनि सरकारले आफैं खरिद गर्दै छ।
यी खोप सरकारले विशेषगरी १२ देखि १८ वर्षका बालबालिकालाई लक्षित गरेर खरिद गर्दैछ। यस्तै कोभ्याक्स मार्फत लागत सहभागितामा १ करोड १० लाख जोड खोप नेपाल आउँदै छ। जसमा ५० लाख डोज जोन्सन एण्ड जोन्सन, फाइजरको ४० लाख र २० लाख डोज अस्ट्राजेनिकाको खोप हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ।
यस्तै १ करोड १३ लाख खोप कोभ्याक्स र गाभीले अनुदानमा दिँदैछ। यसअघि नेपाल आइसकेको ९७ लाख ८२ हजार डोज खोपमध्ये सरकारले १० लाख कोभिसिल्ड खोप भारतसँग र ४० लाख डोज भेरोसेल खोप चीनसँग खरिद गरेको हो।
११ लाख कोभिसिल्ड खोप भारत, ३ लाख ४८ हजार डोज कोभ्याक्स सुविधा अन्तर्गत, १८ लाख डोज भेरोसेल खोप चीन र १५ लाख ३४ हजार डोज जोन्सन एण्ड जोन्सन खोप अमेरिकाबाट अनुदानमा प्राप्त भएको हो।