काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डा जागेश्वर गौतमको परोपकार प्रसुति तथा स्त्री रोग अस्पताल सरुवा भएकाे र अन्य तीन जनाकाे सरुवा राेकिएकाे जनाएकाे छ।
उनलाई सोमबार स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर)को प्रमुख प्रशासकीय अधिकारीको जिम्मेवारीबाट हटाउँदै प्रसुति गृह सरुवा गरेका थिए।
राज्यमन्त्री श्रेष्ठले डा रुद्र मरासिनीलाई कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर)को प्रमुख प्रशासकीय अधिकारीको जिम्मेवारी दिएका थिए।
स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले सोमबार (हिजो) डा गौमतसहित अन्य महाशाखाका प्रमुखको जिम्मेवारी हेरफेर गरेका थिए। त्यसलगत्तै प्रधानमन्त्री शेरबहादुर देउवाले उक्त सरुवा कार्यान्वयन नगर्न निर्देशन दिएको विषय बाहिर आएको थियो।
स्वास्थ्य मन्त्रालयले डा गौतमबाहेक अन्य सरुवा तत्कालका लागि रोकिएको जनाएको छ।
राज्यमन्त्री श्रेष्ठले स्वास्थ्य मन्त्रालयको समन्वय महाशाखाका डा विवेकलाल कर्ण, क्षयरोग केन्द्रको प्रमुखमा रीता जोशीलाई जिम्मेवारी दिएका थिए। मन्त्रायलले डा मरासिनी, डा कर्ण र जाेशीकाे सरुवा राेकिएकाे जनाएकाे छ।