काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण बढिरहेको जनाएको छ। बुधबारको प्रेस ब्रिफिङमा बोल्दै मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले कोरोना संक्रमणको दर बढ्दै गएकाले अस्पतालहरुमा शय्या अभावको अवस्था फेरि आउनसक्ने बताए।
उनले संक्रमण बढ्दै गएमा स्वास्थ्यका पूर्वाधारले धान्न गाह्रो हुने र अस्पतालका शय्या व्यवस्थापन गर्न पनि समस्या हुनसक्ने बताए।
डा अधिकारीले कोरोना संक्रमणको अवस्थामा कमी ल्याउन अनिवार्य रुपमा मास्कको प्रयोग गर्ने, एक व्यक्ति अर्को व्यक्तिबाट कम्तिमा २ मिटर टाढा बस्ने र बेलाबेलामा साबुनपानीले हात धुन अनिवार्य रहेको जानकारी दिए।
साउन लागेपछि कोरोना संक्रमणको दर बढ्दै गएको भन्दै उनले संक्रमण समुदायमा फैलन नदिन संक्रमित पहिचान छिट्टै गरी उनीहरुलाई आइसोलेसनमा राख्न जरुरी रहेको पनि बताए।
साउन १ देखि १९ गतेसम्मको संक्रमणको अवस्था यस्तो छ
कर्णाली, गण्डकी र प्रदेश १ मा संक्रमण दर उच्च
डा अधिकारीका अनुसार गत २४ घण्टाको तथ्यांकलाई हेर्दा कुल परीक्षण दरको २६ दशमलब २ प्रतिशतमा संक्रमण पुष्टि भएको हो।
नेपालमा गत २४ घण्टामा ४ हजार १०७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। ११ हजार ३५४ नमुना पिसिआर विधिबाट परीक्षण गर्दा २ हजार ९७५ जनामा संक्रमण पुष्टि भएको छ भने एन्टिजेन विधिबाट ४ हजार ९४४ नमुना परीक्षण गर्दा एक हजार १३२ नमुना पोजिटिभ आएको थियो। यो दर राष्ट्रिय औषत दरभन्दा धेरै माथि रहेको उनको भनाइ छ।
यस्तै कर्णाली, गण्डकी र प्रदेश १ मा संक्रमण दर उच्च रहेको डा अधिकारीको भनाइ छ।
कर्णाली प्रदेशमा ५७ दशलमब ३ प्रतिशत, गण्डकी प्रदेशमा ४४ प्रतिशत र प्रदेश १ मा ३२ प्रतिशत नमुनामा संक्रमण पुष्टि भएको छ।
हाल देशभर ३३ हजार ४६४ जना सक्रिय संक्रमित छन् ।
तीमध्ये ३० हजार २७० जना सक्रिय संक्रमित होम आइसोलेसनमा छन् भने संस्थागत आइसोलेसनमा ३ हजार १९४ जना संक्रमित उपचाररत छन्।
डा अधिकारीका अनुसार साउनको पहिलो साता ५०० भन्दा बढि सक्रिय संक्रमितहरु कम रहेकोमा अहिले ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका जिल्लाहरु थपिँदै गएको छ।