अंग्रेजी क्यालेन्डर अनुसार अहिले विश्वभर स्तनपान सप्ताह (१ अगष्टदेखि ७ अगष्टसम्म) चलिरहेको छ। यो समयमा स्तनपानको महत्व, यसका अमूल्य फाइदाहरुका बारेमा कुराहरु गरिरहँदा मायाको अंगालो: कंगारु मदर केयर (केएमसी)लाई अछुतो राख्न सकिँदैन।
जसरी कंगारुले आफूले जन्माएको बदामको दाना जत्रो शिशुलाई थैलीमा राखेर स्याहारसुशार गरी हुर्काउँछ, त्यसैगरी जन्मजात कम तौल (२५०० ग्राम भन्दा कम) भएका बच्चाहरुलाई स्याहार गर्ने तरिका हो कंगारु मदर केयर।
मायाको अंगालो अर्थात् कंगारु मदर केयर जन्मजात कम तौल बच्चाहरूको लागि हेरचाहको सरल विधि हो। यो विधिमा शिशु, आमा वा कुनै पनि आफन्त (हेरचाहकर्ता)संग प्रारम्भिक, लामो र निरन्तर SKIN TO SKIN सम्पर्कमा रहन्छ। साथै विशुद्ध तथा बारम्बार स्तनपानमा निर्भर रहन्छ।
युनिसेफ(२०१५)का अनुसार विश्वमा हरेक बर्ष २०.५ मिलियन अर्थात् १४.६ प्रतिशत जन्मजात कम तौल भएका बच्चाहरूको जन्म हुने गरेको छ। नेपालमा २२ प्रतिशत शिशुहरू जन्मजात कम तौल भएका जन्मिने गरेका छन्। तथ्यांकलाई नियाल्दा, विश्वभरी जन्मिने कुल जन्मजात कम तौल बच्चाहरू मध्य करिब आधा बच्चाहरु दक्षिण एशिया मै जन्मिएको देखिन्छ।
विभिन्न अनुसन्धान अनुसार कंगारु मदर केयरका फाइदाहरु
• बच्चाको शरीरको तापक्रम सन्तुलित राख्न मद्धत पुर्याउनुका साथै शिशुको धड्कन र स्वासप्रस्वास सुधार गर्नमा पनि मद्धत पुर्याउँछ
• आमा र बच्चाको भावनात्मक सम्बन्ध पनि बलियो बनाउन मद्धत गर्छ
• शिशुलाई छातीमा टाँसेर राख्दा स्तनपानको प्रभावकारिता पनि बढ्ने गर्छ
• शिशुको रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्धत गर्छ
• जन्मजात कम तौल भएका बच्चाहरुको मृत्युदर कम गर्छ
कस्तो अवस्थामा कंगारु मदर केयर दिने?
१. जन्मजात कम तौल बच्चाहरूको विशेष हेरचाह गर्ने व्यवस्था नभएको अवस्था
२. विशेष हेरचाह गर्ने व्यवस्था भएतापनि पर्याप्त संसाधन उपलब्ध नभएको अवस्थामा
३. विशेष हेरचाह गर्ने व्यवस्था र संसाधन उपलब्ध भएको अवस्थामा
यी तिनै अवस्थामा कंगारु मदर केयर दिन सकिन्छ।
आखिर के चाहिन्छ त कंगारु मदर केयर कार्यान्वयन गर्न?
१. कंगारु जस्तै आसन
२. कंगारुको जस्तै पोषण
कंगारु मदर केयर जुनकुनै अवस्थामा पनि कार्यान्वयन गर्न सकिन्छ। किनकि यसमा कुनै विशेष साधन तथा विशेष जनशक्तिको आवश्यकता हुदैन।
मायाको अंगालो: कंगारु मदर केयर गर्ने विधि
• शुरुवाती अवस्थामा आमा वा स्याहारकर्ताको लुगा अगाडिपट्टी(छाती) खुला रहेको हुनुपर्दछ, भने बच्चाले टोपी, मोजा, डाइपर र छाती खुलेको लुगा लगाएको हुनुपर्दछ।
• कंगारु आसन: बच्चालाई आमाको दुई स्तनको बीच भाग वा स्याहारकर्ताको छातीमा, ठाडो पारेर राख्नु पर्दछ।
• शिशुको शिर/टाउको एक तर्फ फर्काएर हल्का उत्तानो भएको हुनुपर्दछ ताकी शिशुको श्वासप्रश्वासमा कुनै समस्या नहोस् र बच्चा र आमाले एक अर्कालाई देख्न सकुन।
• शिशु भ्यागुताको जस्तै आकार बनाएर छातीमा टासिएको हुनुपर्दछ जसमा बच्चाको पेटले आमाको पेटको माथिल्लो भागमा छोएको हुनुपर्दछ।
(ध्यान रहोस्: शिशुको शिर धेरै खुम्चिएको वा धेरै तानिएको नहोस् ताकी बच्चाको श्वासप्रश्वासमा कुनै रुकावट नआओस्। आमाले वा स्याहारकर्ताले बच्चाको नियमित ध्यान राख्नुपर्दछ।)
• कंगारु मदर केयर गर्दा बच्चालाई बारम्बार र विशुद्ध आमाको दूध पिलाउनु पर्दछ।
• बच्चालाई कंगारु मदर केयर पोजिसनमा सकेसम्म धेरै (२४ घण्टा) समय राख्नु पर्दछ, बच्चालाई झन्झट हुने गरि कंगारु मदर केयरमा राख्ने-निकाल्ने गर्नु हुदैन।
कहिलेसम्म राख्ने त बच्चालाई कंगारु मदर केयरमा?
जबसम्म बच्चाले आरामसंग कंगारु मदर केयर (केएमसी) पोजिसनमा बस्न सक्छ त्यति बेला सम्म केएमसी दिन सकिन्छ र कहिलेकाँही बच्चालाई नुहाई सकेपछि पनि केएमसी दिन सकिन्छ।
नेपाल जस्तो स्वास्थ्य संसाधन कम भएको, शिशु मृत्युदर तथा जन्मजात कम तौल भएका जन्मिने दर उच्च भएको देशमा कंगारु मदर केयरले धेरै शिशुहरुको ज्यान बचाउनमा मद्धत गर्दछ। त्यसैले यस स्तनपान सप्ताहमा स्तनपान संगसंगै केएमसीलाई पनि बढावा दिन जरुरी देखिन्छ।
-(अर्याल र शर्मा नेपाल स्वास्थ्य अनुसन्धान परिषदमा कार्यरत छन्।)