काठमाडौं - सरकारले साउन २५ गतेदेखि कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएका साढे १३ लाख जेष्ठ नागरिकलाई दोस्रो मात्रा खोप लगाउने भएको छ। सरकारले जापान र भुटानले उपलब्ध गराएको खोप एस्ट्राजेनेका लगाउने तयारी गरेको हो।
परिवार कल्याण महाशाखा, बालस्वास्थ्य तथा खोप शाखा प्रमुख डा झलक शर्मा गौतमले साउन २५ गतेदेखि कोभिसिल्डको पहिलो डोज लगाएकालाई एस्ट्राजेनेकाको दोस्रो मात्रा खोप लगाउने तयारी भइरहेको जानकारी दिए।
उनले भने,‘आजदेखि भेरोसेलको दोस्रो मात्रा खोप लगाउने कार्यक्रम चलिरहेको छ। यो सकिने बित्तिकै हामी कोभिसिल्डको दोस्रो मात्रा लगाउन सुरु गर्छौ।’
उनले खोप आपूर्ति भएसँगै उपत्यका भने कोभिसिल्डको दोस्रो मात्रा लगाउन सुरु गरिहाल्ने र खोप आएसँगै प्रदेशमा पनि सुरु गर्ने बताए।
अक्सफोर्ड एस्ट्राजेनेकाले विकास गरेको र भारतको सेरम इन्स्च्यिूटले उत्पादन गरेको कोभिडसिल्ड खोपको पहिलो मात्रा साढे १३ लाख जेष्ठ नागरिकलाई गत चैतमा नै लगाइसकिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दोस्रो मात्रा १२ सातामा लगाउनुपर्ने भएपनि भारतबाट खरिदको खोप उपलब्ध नभएपछि उनीहरुलाई एस्ट्राजेनेका खोप लगाउने निर्णय गरेकाे थियाे।
जापानले नेपाललाई कोभ्याक्स सुविधामार्फत १६ लाख डोज एस्ट्राजेनेका खोप उपलब्ध गराउँदै छ। जसमध्ये भोलि र पर्सी दुई चरणमाा चार/चार लाख डोज खोप नेपाल आउँदै छ। बाँकी आठ लाख डोज खोप १० दिन पछि आउने बताइएको छ।
भुटानले दिएको ३ लाख डोज एस्ट्राजेनका खोप आजै नेपाल आइसकेको छ।
स्वास्थ्य मन्त्रालयको बिहीबारको तथ्यांक अनुसार नेपालमा ४३ लाख ५९ हजार २७७ जनाले पहिलो मात्रा र २१ लाख ३० हजार ९०० जनाले दोस्रो अर्थात पूर्ण खोप पाइसकेका छन्।