काठमाडौं- सरकारले कोभिसिल्डको पहिलो मात्रा लगाई दोस्रो मात्राको प्रतीक्षा गरिरहेका नागरिकलाई एस्ट्राजेनेका खोप लगाई बाँकि रहेको खोप वैदेशिक रोजगारी, अध्ययक्ष र अन्य प्रयोजनमा विदेश जाने व्यक्तिलाई लगाउने निणर्य गरेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आज बसेको सचिव स्तरीय बैठकले मिर्गौलाले काम नगरी डायलासिस गर्नुपर्ने, डायलासिस गरेका, अंग प्रत्यारोपण गरेका तथा क्यान्सर रोगका बिरामीलाई एस्ट्राजेनेका खोप दिने प्राथमिकता राख्ने निणर्य गरेको छ।
सरकारले साउन २५ गतेदेखि गत चैतमा कोभिसिल्डको पहिलो मात्रा लगाई बसेका ६५ वर्ष माथिका ज्येष्ठ नागरिक र अन्य गरी करिब १४ लाख व्यक्तिलाई एस्ट्राजेनेका खोप लगाउँदै छ। सबै प्रदेश क्रमशः खोप कार्यक्रम संचालन गर्दै जाने बैठकले निणर्य गरेको छ।
अक्सफोर्ड एस्ट्राजेनेकाले विकास गरेको र भारतको सेरम इन्स्च्यिूटले उत्पादन गरेको कोभिडसिल्ड खोप साढे १३ लाख जेष्ठ नागरिकलाई गत चैतमा नै लगाइसकेको छ।
दोस्रो मात्रा १२ सातामा लगाउनुपर्ने भएपनि भारत खरीदको खोप उपलब्ध नगराएकाले उनीहरुलाई एस्ट्राजेनेका खोप लगाउने निणर्य स्वास्थ्य मन्त्रालयले गरेको छ।
जापानले नेपाललाई कोभ्याक्स सुविधामार्फत १६ लाख डोज एस्ट्राजेनेका खोप उपलब्ध गराउँदै छ। जसमध्ये भोलि र पर्सी दुई चरणमा चार/चार लाख डोज खोप नेपाल आउँदै छ। बाँकि आठ लाख डोज खोप १० दिन पछि आउने बताइएको छ।
भुटानले दिएको २ लाख ३० हजार डोज एस्ट्राजेनेका खोप आजै नेपाल आइसकेको छ।
स्वास्थ्य मन्त्रालयको बिहीबारको तथ्यांक अनुसार नेपालमा ४३ लाख ५९ हजार २७७ जनाले पहिलो मात्रा र २१ लाख ३० हजार ९०० जनाले दोस्रो अर्थात पूर्ण खोप पाइसकेका छन्।