काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा चाँडै कोरोना भाइरस संक्रमणको तेस्रो लहर सुरु हुने लागेको भन्दै सबैलाई सचेत रहन आग्रह गरेका छन्।
शनिबार एक भिडियो सार्वजनिक गर्दै उनले सरकारको एक्लो प्रयासले मात्रै यो महामारीलाई परास्त गर्न नसकिने भन्दै सबैको साथ सहयोग चाहिएको बताए।
‘सरकारको एक्लो प्रयासले मात्रै कोरोना भाइरसको महामारीसँग लड्न सम्भव छैन। हामी सबै मिले मात्रै महामारीलाई परास्त गर्न सक्छौं’, उनले भने, ‘त्यसैले आवश्यक परेको बेला मात्र बाहिर निस्कन म तपाईहरुसँग आग्रह गर्दछु।’
उनले बाहिर निस्कनु अगाडि नाक र मुख राम्रोसँग छोपिने गरी मास्कको प्रयोग गर्न, भौतिक दूरी कायम गर्न र बेला बेलामा साबुन पानीले हात धुन आग्रह गरेका छन्।
यस्तै, खोप लगाउन जाँदा जनस्वास्थ्यका मापदण्डको पालना गर्नसमेत उनले आग्रह गरेका छन्।
‘महामारी नियन्त्रणको सबैभन्दा प्रभावकारी अस्त्र भनेको खोप हो। अहिले विभिन्न समूहलाई खोप लगाउने कार्य जारी रहेको छ र खोप लगाउन जाँदा सामाजिक दूरी कायम गरी लाइनमा बस्न सबैलाई अनुरोध गर्दछु,’ उनले भनेका छन्।
उनले विभिन्न राजनीतिक दलहरु, निजी तथा गैरसरकारी संघ–संस्थाहरुलाई भीडभाड हुने कार्यक्रम नगर्नसमेत अनुरोध गरेका छन्।