काठमाडौं– नेपाली कांग्रेसका नेता गगन थापाले विद्यार्थीको भविष्य र स्वास्थ्य माथि खेलवाड नगर्न सम्बन्धित पक्षसँग आग्रह गरेका छन्।
वैकल्पिक माध्यमबाट परीक्षा सञ्चालन गर्न ध्यानाकर्षण गराउँदा पनि स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नगरी परीक्षा सञ्चालन भइरहेको भन्दै थापाले सामाजिक सञ्जालमार्फत स्वास्थ्य माथि खेलवाड नगर्न आग्रह गरेका हुन्।
एउटै हलमा धेरै विद्यार्थी राख्दा संक्रमणको जोखिम बढ्ने उनको भनाइ छ। साथै, छुट्टै व्यवस्था नहुँदा संक्रमितहरू आफ्नो अवस्था लुकाई परीक्षा दिन बाध्य भएको र यसले संक्रमण जोखिम बढाएको उनले बताएका छन्।
‘एकातिर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तेस्रो लहरबारे बताइरहने अर्कोतर्फ परीक्षा सञ्चालन गरेर संक्रमणको जोखिम बढाइरहने?,’ उनले भनेका छन्, ‘कि स्वास्थ्य सुरक्षा मापदण्ड पालना गराऊ नत्र वैकल्पिक माध्यमबाट परीक्षा चलाऊ! तर,विद्यार्थीको भविष्य र स्वास्थ्यमाथि खेलबाड नगर।’
यस बारेमा मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेरै ध्यानाकर्षण गराएको उनको भनाइ छ। भेटमा पधानमन्त्रीले यो विषयलाई गम्भीरताका साथ लिएको र तत्काल पहलकदमी लिई ठोस निर्णय गर्ने विश्वास दिलाएको थापाको भनाइ छ।