काठमाडौं- स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले काममाडौं, तराईंका बढी जनघनत्व भएका जिल्ला र विद्यार्थीहरुमा कोभिड खोप कार्यक्रम प्राथमिकता दिई अघि बढाउने बताएका छन्।
प्रतिनिधिसभामा बोल्दै राज्यमन्त्री श्रेष्ठले ५०० भन्दा बढी संक्रिय संक्रमित भएका जिल्लाहरुमा पनि खोप कार्यक्रम प्राथमिकताका साथ अघि बढाउने बताएका छन्। उनले असोजसम्म थप एक करोडभन्दा बढी खोप आउने पनि बताए। स्वास्थ्य मन्त्रालयको बुधबारको तथ्यांक अनुसार २० जिल्लामा सक्रिय संक्रमित रहेका छन्।
उनले खोप कार्यक्रमलाई व्यवस्थित बनाउन खोप केन्द्रहरु थप गरिने जानकारी पनि दिएका छन्।
सरकारले खोप आयात बढाएको उनको भनाइ छ। ५ करोड ५० लाख खोप आवश्यक पर्ने भन्दै उनले पूर्ववर्ती सरकारले ४२ लाख खोप उपलव्ध गराएको बताए। बुधबारसम्म ७५ लाख डोज खोप लगाइएको उनले जानकारी दिए।
सरकारले अभियानको रुपमा दैनिक १ लाख देखि २ लाख खोप लगाउने कार्यक्रमको थालनी गरेको छ। असोज मसान्त सम्म १ करोड ८ लाख खोप प्राप्त हुने सुनिश्चत भएको उनले जानकारी दिए। मन्त्री श्रेष्ठले ३३ प्रतिशत जनतालाई खोप लगाउने कार्यक्रम रहेको बताए।
उमेर समूह र आर्थिक गतिविधि हुने ठाउँमा छुट्टै व्यवस्थापन गरेर खोप दिइने उनको भनाइ छ। धेरै संक्रमित रहेका १५/१६ जिल्लामा खोप पहिला दिइने उनले बताए।
आगामी दिनमा सरकारले निजी क्षेत्रसँगको साझेदारीबाट खोप कार्यक्रमलाई अघि वढाउने उनको भनाइ छ। निजी क्षेत्रका स्वास्थ्य क्षेत्रलाई नाफा भन्दा सेवामुखी बनाउन सरकारले पहल गर्ने उनको भनाइ छ।