केन्द्रीय संकट व्यवस्थापन केन्द्रका वरिष्ठ पदाधिकारी सहितको विशेष टोलीद्वारा साउन २८ गते वीरगञ्जमा कोभिड पूर्व तयारीको अनुगमन भएको छ। सो अवसरमा सेनाद्वारा निर्माण हुँदै गरेको एक हजार शय्या क्षमताको होल्डिङ सेन्टरको अवस्था साथै स्मार्ट लकडाउन बारे पनि छलफल भएको छ। छलफलका क्रममा विशेष टोलीका सदस्यहरुको ठुलो प्रश्न थियो- किन वीरगञ्जमा कैयौं साता बितिस्कदा पनि कोभिडको एउटा पनि मृत्यु भएको छैन? कयौं साता भइसक्दा पनि अस्पतालमा कोभिड बिरामीको संख्या न्यून छ? उहाँहरु झन आश्चार्यमा हुनुहुन्थ्यो जब सिमरा विमानस्थलदेखि वीरगञ्जसम्म आउँदा केही व्यक्तिले मात्र मास्क प्रयोग गरेको देख्नु भयो।
सो कार्यक्रममा सम्बोधन गर्दै नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा भगवान कोइरालाले पनि आश्चर्य मान्दै देशको अरु भाग आक्रान्त बन्दा वीरगञ्जको अवस्था र कोभिड तथ्यांकमा केही न केही पक्कै छ भनि प्रश्न गरे?
हुन पनि यस्ता प्रश्नमा आश्चार्य र कौतुहुलता सान्दर्भिक नै छ। कोभिड भन्नेवित्तिकै वीरगञ्ज सबैको जिब्रोमा आउँछ। पहिलो लहरको उदगम स्थल र दोस्रो लहरको केही समयमा ठूलो क्षति बेहोरेको वीरगञ्जले हाल कोभिडको तथ्यांकमा कुनै प्रभाव पारेको छैन।
झण्डै ६ साता भइसक्यो पीसीआर परीक्षणमा दोहोरो अंक कहिले पनि काटेको छैन। कोभिडको कारणले मृत्यु नभएको पनि झन्डै एक महिना भइसकेको छ। परीक्षणको दायरा पहिलाकै जस्तो छ। अर्कोतिर पोखरामा अधिकांस अस्पताल कोभिडले भरिएको छ, झापामा नयाँ केसहरु तीब्र रुपमा बढ्दो छ। काठमाडौंको अवस्था उकालो लाग्दै छ, कोभिड बेडहरु भरिने क्रम तीब्र छ।
यस्तो अवस्था किन?
१) भौगोलिक अवस्था
दोस्रो लहर चल्दै गर्दा मुख्य सहरहरुबाट विस्तारै पहाडी जिल्लामा संक्रमितहरु गएको देखियो। पहाडमा खुला ठाउँ, घर धुरीबीचको दूरी र कम भीडभाढ हुने भएकाले संक्रमणको चेनको गति कम भएको र विस्तारै त्यो बढ्दै गर्दा पुन: काठमाडौं, पोखरा, झापा, चितवन जस्ता ठाउँमा बिरामीहरुको संख्या बढदै गएको छ किन भने यी सबै सहरहरु पहाडी जिल्लाका बिरामीहरुको मुख्य नाका रहेको छ।
२) जनघन्त्व
अर्कोतिर वीरगञ्ज जस्तो ठाउँमा जनघन्त्व उच्च भएको हुँदा लहर तीब्र रुपमा आउने, तीब्र क्षति गर्ने र छोटो अन्तरालमै शान्त भएर जाने स्थिति छ। दुबै लहरमा हामीले अनुभव गरेको येही नै हो। पहिलो लहर २०७७ श्रावण पहिलो साताबाट सुरु भएको र भदौ दोस्रो सातासम्म संतोषजनक अवस्थामा पुगेको थियो भने दोस्रो लहर वैशाख पहिलो साताबाट उग्र हुँदै जेष्ठको अन्तिमसम्म नियन्त्रण भएको थियो। अधिकांस मृत्यु यही समयमा भएको थियो।
३) खुला सिमाना
वीरगञ्जमा तीब्र रुपमा लहर आउनुको कारण खुला सिमाना हो। खुला सिमानाका कारण भारतमा कोभिड बढ्ने बितिकै यसको प्रत्यक्ष असर यहाँ देखिन्छ र पहिलो हिट पोइन्ट वीरगञ्ज जस्ता सिमा नाका भएका सहरहरु हुने गर्छ। अहिले सिमा नाका बन्द भएको अवस्था र हेल्थ डेस्कको स्क्रिनिङ प्रक्रियाले नयाँ बिरामीहरु रोक्ने काम गरेको देखिन्छ।
बिहारमा खोप कार्यक्रम निकै प्रभावकारी भएको हुँदा त्यसले बिहारमा कोभिड नियन्त्रण गर्दै गर्दा वीरगञ्ज जस्तो शहरमा पनि त्यसको प्रभाव परेको छ।
यती भनि रख्दा वीरगञ्जले पाएको कोभिड नियन्त्रणको उपलब्धि कतै गुम्ने त हैन भन्ने खतरा पक्कै छ। किनभने अधिकांसले स्वास्थ्य मापदण्डहरुको खुल्लम खुल्ला उलंघन गरेको देखिन्छ।
अहिलेको अवस्थामा सम्भावित तेस्रो लहरलाई मध्यनजर गर्दै स्वास्थ मापदण्डहरु हरेक नागरिकले पालना गर्नु, स्वास्थ्य संस्थाहरुले भौतिक पुर्वाधार साथै अक्सिजनको व्यवस्थापन गर्ने र स्थानीय प्रशासनले जनचेतना मुलक कार्यहरु गर्दै स्वास्थ्यका मापदण्डहरु प्रभावकारी तवरले लागू गराउने कार्य उपयुक्त देखिन्छ।