काठमाडौं- पछिल्लो पाँच हप्तामा थप ४८ लाखभन्दा बढीले कोरोनोविरुद्धको खोप लगाएका छन्। शेरबहादुर देउवा प्रधानमन्त्री भएयता खोप लगाउनेको उक्त संख्या थपिएको हो।
प्रधानमन्त्री कार्यालयका अनुसार गत बिहीबारसम्ममा कोरोना खोप लगाउनेको संख्या ८५ लाख २० हजार ४२१ पुगेको छ। देउवा प्रधानमन्त्री भएयता खोप लगाउनेको संख्या ४८ लाख ११ हजार ७३३ थपिएको कार्यालयले जनाएको छ।
दुवै डोज खोप लगाउनेको संख्या भने ३७ लाख आठ हजार ६८८ पुगेको तथ्यांक छ। अहिले कोरोनाको दुवै डोज खोप लगाउने जनसंख्या १३ प्रतिशत पुगेको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ। पहिलो डोज लगाउने जनसंख्या भने १६.८ प्रतिशत पुगेको छ। पछिल्लो पाँच हप्तामा कोरोनाको खोप लगाउनेको संख्या झण्डै दोब्बरले बढेको छ।
सरकारले असोज मसान्तसम्ममा ३३ प्रतिशत जनतालाई कोरोनाविरुद्धको खोप नि:शुल्क लगाउने घोषणा गरेको छ। चैत मसान्तसम्म खोप लगाउनयोग्य सबै जनतालाई नि:शुल्क खोप दिलाउने घोषणा सरकारले गरिसकेको छ।