काठमाडौं– नेपाल मेडिकल काउन्सिललाई चुनाव लागेको छ। काउन्सिलमा एक उपाध्यक्ष र ८ जना सदस्य निर्वाचनबाट चुनिएर आउने व्यवस्था छ। सोही अनुसार काउन्सिलले नयाँ उपाध्यक्ष र सदस्यहरु चुन्नका लागि निर्वाचन गर्ने तयारी गरेको हो।
काउन्सिलको बुधाबार बसेको फूल हाउसको बैठकले निर्वाचन गराउन निर्वाचन समिति गठन गर्ने निर्णय गरेको काउन्सिलका रजिस्ष्ट्रार डा कृष्ण अधिकारीले जानकारी दिए।
‘निर्वाचन गराउन समिति गठन गर्ने निर्णय गरिएको छ,’ उनले भने, ‘निर्वाचन समितिमा को–को हुने भनेर केही चिकित्सकहरुको नाम प्रस्ताव गरिएको छ, अबको तीन दिनमा समितिमा को–को हुन्छन् जानकारी गराउछौं।’
उनले निर्वाचन समितिले नै आयोगको निर्वाचनको मिति तय गर्ने जानकारी दिए।
काउन्सिल स्रोतका अनुसार बैठकले निर्वाचन समितिको संयोजकमा तीन जनाको नाम प्रस्ताव गरेको छ। तीमध्ये कुनै एक जना निर्वाचन समिति प्रमुख नियुक्त हुनेछन्। बैठकले डा गणेश राई, डा मधुसुदन पुन र डा धनबहादुर मगरलाई संयोजक बनाउन सक्ने भन्दै नाम सिफारिस गरेको छ। ‘उहाँहरु तीन जनामध्ये एक जना प्रमुख निर्वाचन अधिकारी बन्ने सम्भावना छ,’ स्रोतले भन्यो।
यस्तै, बैठकले निर्वाचन समिति सदस्यहरुमा डा गणेश दंगाल र डा मनोज हुमागाईलाई नियुक्त गर्ने सिफारिस पनि गरेको छ।
काउन्सिल ऐनमा एकजना उपाध्यक्ष र ८ जना सदस्य निर्वाचनबाट चुनिने व्यवस्था छ। अध्यक्ष सरकारले नियुक्त गर्छ भने अन्य सदस्यहरु पदेन तथा मनोनित हुने व्यवस्था छ।