काठमाडौं - उपदान, औषधि उपचार खर्च लगायत सामाजिक सुरक्षा प्रत्याभूतिका लागि पाउनुपर्ने रकमको माग गर्दै सिहंदरबार वैद्यखाना विकास समितिका कर्मचारी आन्दोलित भएका छन्।
आफूहरुले काम गरेको अवधिभर पाउनुपर्ने उपदान, औषधि उपचार खर्च लगायत रकम कर्मचारी कल्याणकारी कोषमा राख्न माग गर्दै उनीहरु आन्दोलित भएका हुन्। उक्त माग सहित साउन २४ गतेदेखि आफूहरु शान्तिपूर्ण आन्दोलनमा उत्रिएको वैद्यखानाका योजना अधिकृत सतिश पौडेलले बताए।
उनले भने, ‘कर्मचारीहरुले अवकाश हुने बेलामा पाउने उपदान लगायत सामाजिक सुरक्षा प्रत्याभूतिका लागि पाउनुपर्ने फण्डका लागि कर्मचारी कल्याणकारी कोष स्थापना गर्ने हाम्रो नियमावली नै छ। तर अहिलेसम्म भएको छैन।’
सिंहदरबाह वैद्यखाना विकास समितिको कर्मचारी प्रशासन नियमावलीले कर्मचारी कल्याणकारी कोष स्थापना गर्ने व्यवस्था भएपनि हालसम्म लागू नभएको उनले बताए।
आफूहरुले निमित्त कार्यकारी प्रमुख र बोर्ड समक्ष पटक–पटक माग राखेपनि हालसम्म सुनुवाई नभएको कर्मचारी प्रशासन शाखाकी प्रशासकीय अधिकृत रुन्धता कुमारी खरेलले बताइन्। आफूहरुले त्यहाँ काम गरेको २४ औँ वर्ष भएपनि हालसम्म कर्मचारी कल्याणकारी कोषको व्यवस्था नभएको उनको गुनासो छ।
‘कर्मचारी प्रशासन नियमावलीमा भएको अनिवार्य दायित्व अनुसार आजसम्मको उपदान र औषधि उपचार खर्च कर्मचारी कल्याणकारी कोष खडा गरेर त्यसमा राखिदिनुस् भन्ने हाम्रो माग हो’ उनले भनिन्।
गत वर्ष कर्मचारी कल्याणकारी कोष स्थापनाका लागि एक करोड छुट्याएपनि व्यवस्थापनले अन्य काममा उक्त रकम खर्च गरेको उनीहरुको आरोप छ। माग सम्बोधन नभए कार्यालय बन्द गर्नेदेखि लिएर अन्य कार्यक्रम ल्याउन बाध्य हुने आन्दोलित कर्मचारीहरुको चेतावनी छ।
उनीहरु भन्छन्, ‘हामीलाई सुविधा चाहिएको होइन। काम गरेको अवधिको रकम कल्याणकारी कोषमा राखिदेउ। अनिवार्य दायित्व पुरा गरिदेउ। हाम्रो माग सुनुवाई नभए कार्यालय बन्द गर्नेदेखि अन्य कार्यक्रम ल्याउन बाध्य हुनेछौं।’
सिहंदरबार वैद्यखाना विकास समितिका निमित्त कार्यकारी निर्देशक डा शवरी साह कर्मचारीहरुको मागका विषयमा सकारात्मक भएको बताउँछन्। २०६९ सालमा दुई लाख रुपैयाँ रकम राखेर कर्मचारी कल्याणकारी कोष स्थापना गरिएपनि निरन्तरता भने दिन नसकिएको उनले बताए।
उनले भने, ‘यो अहिलेको मात्र समस्या होइन। हाल आन्दोलनमा रहेका ऋषिराज रेग्मी आफैँ पनि निमित्त प्रबन्ध निर्देशक हुनुभयो। तर आफ्नो कार्यकालमा पनि पैसा राखिएन। अहिले उहाँ आफैँ आन्दोलनमा हुनुहुन्छ।’
आर्थिक वर्ष २०७७/७८ सालमा डा वंशदीप शर्मा खरेल प्रबन्ध निर्देशक हुँदा उक्त कोषमा एक करोड रुपैयाँ राख्ने बोर्डले निर्णय गरेको थियो। तर कर्मचारीको तलब, प्रशासनिक खर्च, उत्पादन, मर्मत, उपकरण लगायतमा उक्त एक करोड रकम खर्च भएको डा साहले बताए।
वैद्यखानाको फिक्स डिपोजिट रहेको १० करोड रुपैयाँ कल्याणकारी कोषमा राख्न कर्मचारीले माग गरेपनि संभव नभएको उनले बताए। सबै रकम कोषमा राखे कार्यालय सञ्चालन गर्न समस्या हुने उनको भनाई छ।
‘हामीसँग यो १० करोड बाहेक पैसा नै छैन। अन्य आयस्रोत हुनुपर्यो। यो १० करोड रुपैयाँ कोषमा राखियो भने कर्मचारीलाई तलब कसरी खुवाउने? वैद्यखाना कसरी सञ्चालन गर्ने?’ उनले भने।
आफूले बोर्डमा यो विषय राखेपनि यो वर्ष अवकाश हुने कर्मचारीले पाउनुपर्ने पैसा मात्र दिने निर्णय भएको उनले बताए। आगामी बस्ने बैठकमा कर्मचारीहरुको मागको विषयमा पुनः एजेण्डा उठाइने उनले बताए। आन्दोलन गरेर र उत्पादन बन्द गरेर संस्थाको हित नहुने उनको भनाई छ।
हाल कर्मचारीहरु हातमा कालो पट्टी बाँधेर सेवा दिइरहेका छन् भने बिहान १० देखि ११ बजेसम्म धर्ना दिने गरेका छन्। सिहंदरबार वैद्यखाना विकास समितिमा हाल ४३ जना कर्मचारीहरु छन्।