काठमाडौं- काठमाडौंको गोकर्णेश्वर नगरपालिकाले मंगलबार (भदौ १५ गते) देखि भौतिक उपस्थितिमा विद्यालय सञ्चालन भएको छन्। बढ्दो कोरोना संक्रमणका कारण लामो समयदेखि बन्द भएका विद्यालयहरुलाई भौतिक रुपबाटै सञ्चालन गर्नका लागि नगरपालिकाले अनुमति दिएको छ।
नगरपालिकाका अनुसार लामो समयदेखि विद्यार्थीहरु घरमै रहँदा उनीहरुको पठनपाठनमा समस्या भएपछि सरोकारवालाले भौतिक उपस्थितिमै कक्षा सञ्चालनको माग गरेका थिए। सोही माग अनुसार मंगलबारदेखि विद्यालय सञ्चालन गर्न पाउने गरी निर्णय गरेको नगरपालिकाको शिक्षा शाखाका अधिकृत टेकेन्द्र ढकालले बताए।
आइतबार नगर शिक्षा समितिको बैठक बसी १५ गतेबाट विद्यालय सञ्चालन गर्नका लागि अनुमति दिने निर्णय भएको बताउँदै ढकालले सूचना समेत सम्बन्धित निकायमा पठाएको जानकारी दिए।
शिक्षाका सरोकारवाला, स्थानीय राजनीतिक दलहरुसँगको छलफलले भौतिक उपस्थितिमै विद्यालय सञ्चालन गर्नुपर्ने माग भएको र सोही भेलाले गरेको सिफारिसका आधारमा विद्यालय सञ्चालन गर्न लागिएको उनले बताए।
विद्यालयलाई नै पूर्ण जिम्मेवारी बनाएर विद्यालय सञ्चालनको लागि स्वीकृति दिएको जानकारी दिँदै विद्यालयले स्वास्थ्य सुरक्षाका मापदण्डबारे नगरपालिकाले अनुगमन गर्ने उनले बताए।
कोरोना संक्रमणको दर बढिरहे पनि शिक्षाका सरोकारवालाको दबाबका कारण नगरपालिकाले सो निर्णय गरेको नगरपालिकाका उपमेयर शान्ति नेपालले बताइन्। अभिभावकहरुले भने तत्काल विद्यालय सञ्चालन गर्दा जोखिम बढ्ने भएकाले यो निर्णय गलत भएको प्रतिक्रिया दिएका छन्।
विद्यालय सञ्चालनका लागि आवश्यक स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्नुपर्ने शर्त राखिएको शिक्षा शाखा अधिकृत ढकालले बताए। उनले विद्यालय अल्टरनेटिभ तरिकाले सञ्चालन गर्ने, विद्यार्थीलाई अभिभावकले नै स्कुलसम्म पुर्याउने र अभिभावक नै लिन आउने, घरबाटै खाजाको व्यवस्था गर्ने, स्कुल बसहरु अनिवार्य रुपमा स्यानिटाइज गर्ने, कक्षाहरुमा भौतिक दूरी कायम गर्ने, साबुन पानीको बन्दोबस्त गरी बेलाबेला हात धुन लगाउनु पर्ने शर्तमा विद्यालय सञ्चालनको लागि स्वीकृत दिएको बताए।
सामुदायिक १६ वटा र संस्थागत ९१ वटा विद्यालय रहेको सो नगरपालिकामा हाल ४० हजार विद्यार्थी अध्ययन गरिरहेको नगरपालिकाले जनाएको छ।
यता जिल्ला प्रशासन कार्यालयले भने विद्यालय सञ्चालनको अनुमति नदिइएको बताएको छ। निषेधाज्ञा जारी रहेकै अवस्थामा विद्यालय सञ्चालनको कुनै अनुमति नदिइएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए। संक्रमण जोखिम कायमै रहेकाले तत्काल विद्यालय सञ्चालनको अवस्था नरहेको उनको भनाइ छ।