काठमाडौं– सरकारले मानसिक रोगमा प्रयोग हुने औषधि ‘साइको ट्रपिक ड्रग’ खरिदका लागि प्रत्येक प्रदेशमा ५० लाख रुपैयाँ बजेट बिनियोजन गरेको छ।
चालु आर्थिक वर्षमा प्रादेशिक अस्पतालहरुमा साइको ट्रपिक ड्रग खरिदका लागि ५० लाख रुपैयाँ बजेट बिनियोजन गरेको नसर्ने तथा मानसिक रोग शाखा प्रमुख डा फणिन्द्र बरालले बताए। सरकारले ११ प्रकारको साइको ट्रपिक ड्रग उपलब्ध गराउँदै आएको छ। हाल करिब डेढ वर्षलाई पुग्ने औषधि स्टकमा रहेको उनले बताए।
यो आर्थिक वर्षमा थप ५० लाखको औषधि खरिद गरिने हुनाले मानसिक स्वास्थ्यमा औषधिको उपलब्धतामा कमी नहुने उनको भनाई छ। मानसिक स्वास्थ्य सम्बन्धी जनचेतना वृद्धि गर्न र रोगको रोकथामका लागि सरकारले सामुदायिक मानसिक स्वास्थ्य कार्यक्रम समेत सञ्चालन गरेको छ।
हाल ४२ जिल्लामा पुगेको उक्त कार्यक्रम आगामी दुई वर्षमा सबै जिल्लामा पुर्याउने लक्ष्य रहेको डा बरालले बताए।
कम्तीमा एउटा पालिका एक जना काउन्सिलर, एउटा जिल्लामा एक जना साइकाट्रिक्स हुनुपर्ने उनले बताए। कम्तीमा प्रदेश स्तरी मुख्य अस्पतालहरुमा क्लिनीकल साइकालोजिष्टको दरबन्दी बनाउनुपर्नेमा उनको जोड छ।