काठमाडौं- चिकित्सा शिक्षा सुधारका अभियन्ता डा गोविन्द केसीसँग सरकारले गरेको पाँच बुँदे सहमति कार्यान्वयनका लागि स्वास्थ्य मन्त्रालयले समिति गठन गरेको छ।
मन्त्रालयका १२औं तहका प्रमुख विशेषज्ञ डा दिपेन्द्ररमण सिंहको संयोजकत्वमा समिति गठन भएको हो। समितिमा नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा भगवान कोइराला, शिक्षा मन्त्रालय, स्वास्थ्य मन्त्रालय र कानुन मन्त्रालयका सहसचिव सदस्य छन्।
समितिले डा केसीसँग भएका सम्झौता कार्यान्वयन अवस्था अनुगमनगरी कार्यान्वयनका लागि ठोस सुझाव दिने बताइएको छ।
डा केसीसँग प्रधानमन्त्री शेरबहादुर देउवाले भदौ १ गते ५ बुँदे प्रतिबद्धता जनाएका थिए। प्रधानमन्त्री देउवाले माग पुरा गर्ने प्रतिबद्धता जनाएपछि डा केसीले ३ गतेबाट बस्ने भनेको अनसन स्थगित गरेका थिए। प्रधानमन्त्रीको प्रतिबद्धतापछि स्वास्थ्य मन्त्रालयले ती प्रतिबद्धता पुरा गर्न प्रतिवद्ध रहेको भन्दै भदौ २ गते नै सार्वजनिक सूचना निकालेको थियो।
प्रधानमन्त्री देउवा र डा केसीबीच सार्वजनिक पदहरूमा नियुक्त गर्दा हुने स्वार्थको द्वन्द्व रोक्न कानुनी व्यवस्था गर्ने, स्वास्थ्य राज्यमन्त्रीको विषयलाई उपयुक्त समयमा सम्बोधन गर्ने सहमति भएको थियो।
यस्तै, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइरहेको आन्दोलन टुंग्याउने क्रममा भएको सम्झौता कार्यान्वयन गर्न तथा प्रतिष्ठानको विषयमा कार्यदलले तयार पारेको प्रतिवेदन कार्यान्वयनका लागि तत्काल सिनेट बैठक बोलाउने सहमति भएको छ।
यसैगरी, पदाधिकारी नियुक्तिको मापदण्ड निर्धारण गर्न बनेका कार्यदलहरूको प्रतिवेदनहरूलाई कानुनी रूप दिन सम्बन्धित मन्त्रीको नियुक्ति हुनसाथ प्रक्रिया अघि बढाउने, प्रत्येक प्रदेशमा कम्तीमा एउटा मेडिकल कलेज पुर्याउनका लागि निर्माण कार्यलाई तीव्रता दिने लगायतका सहमति पनि भएका छन्।