काठमाडौं - एलायन्स फर गाभीले नेपालमा एक लाख डोज फाइजर खोप अनुदानमा दिने भएको छ। गाभीले आगामी अक्टुबरमा फाइजर खोप उपलब्ध गराउने भएको छ।
परिवार कल्याण महाशाखाका प्रमुख डा तारानाथ पोखरेलका अनुसार गाभीले ट्रयाल स्वरुप उपलब्ध गराउन लागेको जानकारी दिए।
उनले भने,‘गाभीले खोप सेप्टेम्बरमै पठाउने कुरा थियो तर पछिल्लो समय प्राविधिक तयारी गर्नुपर्ने हुनाले अक्टुबरमा पठाउने कुरा भएको छ।’
उनले खोप भण्डारणका लागि नेपालमा भौतिक पूर्वाधार नभएकाले युनिसेफले खोप आउनुअघि रेफ्रिजेनेटर उपलब्ध गराउने बताए।
फाइजर माइनस ७० डिग्री तापक्रममा भण्डारण गर्नुपर्ने हुन्छ। जुन संरचना नेपालमा नभएकाले युनिसेफ चार वटा फ्रिज उपलब्ध गराउने बताइएको छ।
प्रमुख पोखरेलले फाइजर खोप अन्य खोपभन्दा फरक भएकाले उक्त खोप लगाउनका लागि स्वास्थ्यकर्मीलाई तालिम दिनुपर्ने बताए। ‘फाइजर हाम्रो लागि नयाँ भयो। त्यसको सबै तयारी अलग्गै गर्नुपर्छ। डोज पनि कम, सिरिंज पनि ०.३ एमएलको आवश्यक पर्छ। कोल्ड चेन पनि नयाँ चाहियो। यो खोप पावडरमा हुने भएकाले घोल्नुपर्ने हुन्छ। त्यसका लागि तालिम दिनुपर्ने हुन्छ। घोलेर एक घण्टा बाहिर राख्नुपर्छ। त्यो एक लागि निश्चित समुहलाई दिएपछि हामीले थप खोप ल्याउन सहज हुन्छ।’
नेपालले ६० लाख डोज फाइजर र ४० लाख मोर्डना खोप खरीद गर्न लागेको छ। जुन खोप १८ वर्षमुनिका बालबालिकालाई उपलब्ध गराइने स्वास्थ्य मन्त्रालयले निणर्य गरिसकेको छ।
एक लाख डोजको ट्रयालसँगै थप खोप भण्डारणका लागि कोल्ड चेनको क्षमता बढाउने र बिस्तार गर्ने कार्य पनि अगाडी बढाइने बताइएको छ।
नेपालमा १८ वर्ष मुनिका करिब ३४ लाख बालबालिका भएको अनुमान स्वास्थ्य मन्त्रालयको छ।
नेपाल सोमबारसम्म कुल जनसंख्याको १८ प्रतिशत व्यक्तिले कोरोना विरुद्धको पहिलो डोज लगाएका छन् भने १५ प्रतिशतले पूणर् खोप लगाइसकेका छन्।