काठमाडौं- कोरोना भाइरस संक्रमणको 'चेन ब्रेक'का लागि भनेर काठमाडौं उपत्यकामा जारी निषेधाज्ञाका क्रममा सञ्चालन गर्न रोक लगाइएका सबै व्यवसायहरु अब सञ्चालन गर्न पाइने भएको छ।
उपत्यकाका ३ जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बुधबारको बैठकले सबै प्रकारका सेवा तथा व्यवसायहरु सञ्चालन गर्न दिने निर्णय गरेको हो।
कोरोना भाइरस संक्रमणको दोस्रो लहर शुरु भएपछि गत वैशाख १६ गतेदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गरिएको थियो। असार दोस्रो सातादेखि निषेधाज्ञा क्रमश खुकुलो बनाउँदै लगिएपनि केही व्यवसाय सञ्चालनमा भने रोक लगाइएको थियो।
आज (बुधबार) मध्यरातसम्मका लागि पार्टी प्यालेस, सिनेमा हल, डान्सबार, दोहोरी, नाचघर, स्वीमिङ पुल, मनोरञ्जल स्थलजस्ता व्यवसाय सञ्चालनमा रोक लगाइएको छ।
बिहीबारदेखि भने सबै प्रकारका व्यवसाय सञ्चालन गर्न दिने निर्णय भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीले जानकारी दिए।