काठमाडौं- सरकारले नेपाल मेडिकल काउन्सिलको रिक्त सदस्य पदमा डा विक्रान्त ढकाललाई नियुक्त गरेको छ।
हिजो बसेको मन्त्रिपरिषद्को बैठकले मोरङका ढकाललाई काउन्सिलको सदस्य पदमा नियुक्त गर्ने निर्णय गरेको हो।
काउन्सिलमा निर्वाचन, पदेन र सरकारले मनोनयन गरेर सदस्य आउने व्यवस्था छ।
निर्वाचनबाट ८ जना सदस्य आउने व्यवस्था छ। काउन्सिलमा यसअघि २०७४ मा निर्वाचित कार्याकारीहरुको पदावधि २०७८ असोज ५ गते समाप्त हुँदैछ।
काउन्सिलले उपाध्यक्ष पदमा एकजना र सदस्य पदमा ८ जनाको लागि निर्वाचन गर्न डा गणेश राईलाई प्रमुख निर्वाचन अधिकृत तोकेको छ।
काउन्सिलले डा राईलाई प्रमुख निर्वाचन अधिकृत, डा मधुसुदन पुन र डा मनोज हुमागाईलाई निर्वाचन अधिकृत तोकेको हो। अब डा राईको निर्वाचन समितिले काउन्सिलको उपाध्यक्ष र सदस्यहरुको निर्वाचनका लागि तयारी गर्नेछन्।
निर्वाचनमा उम्मेदवार हुनका लागि उपाध्यक्ष पदका लागि कम्तीमा १५ वर्ष र सदस्य पदका लागि कम्तिमा ५ वर्षको अनुभव प्राप्त दर्तावाल चिकित्सक हुनुपर्ने व्यवस्था छ। यसरी निर्वाचित उपाध्यक्ष तथा सदस्यको कार्यकाल ४ वर्षको हुनेछ।