काठमाडौं– बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान शुद्धीकरण अभियान संयुक्त संघर्ष समितिले आइतबारदेखि आकस्मिक, कोभिड र पूर्वनिर्धारित परीक्षाबाहेकका सेवा बहिष्कार गर्ने चेतावनी दिएको छ।
विभिन्न माग राख्दै आन्दोलनमा रहेको शुद्धीकरण अभियानका अभियन्ताहरूले८१ औं दिन पुग्दापनि आफूहरूका माग सम्बोधन नभएको बताएका छन्।
सरकारले माग पूरा गर्ने भन्दै आफूहरूसँग सम्झौता गरेको १ महिना बितिसक्दा पनि विभिन्न बहाना बनाएर माग सम्बोधनमा ढिलाइ गरेको आन्दोलनरत पक्षले बताएको छ।
प्रतिष्ठानमा भएको अनियमितताबारे छानबिन गरी दोषिमाथि कारबाही हुनुपर्ने तथा प्रतिष्ठानका पदाधिकारीहरूलाई बर्खास्त गर्नुपर्ने लगायतका विभिन्न माग राख्दै उनीहरू असार १ गतेदेखि आन्दोलनमा छन्।
आफ्नो माग सुनुवाइ नभएको भन्दै आइतबारदेखि थप आन्दोलनको कार्यक्रम तथा सेवा बहिष्कार गर्ने उनीहरूले बताएका छन्। आन्दोलरत पक्षले गत शुक्रबार आफ्ना मागहरू पूरा गर्न सरकारलाई सात दिने अल्टिमेटम दिएको थियो।
माग पूरा गर्न दिएको सात दिने अल्टिमेटम आज सकिएको छ। तर, माग पूरा नभएको भन्दै आन्दोलनरत पक्षले सेवा बहिष्कार गर्ने घोषणा गरेको हो।
यस्तो छ आन्दोलनरत पक्षको ६ बुँदे माग
१. नेपाल सरकार स्वास्थ्य मन्त्रालयले हामीसँग २४ दिनअगाडि गरेको सम्झौता द्रूतगतिमा पालना गरियोस्।
२. प्रधानमन्त्री र प्रा.डा. गोविन्द केसीबीच १० दिन अगाडि भएको सम्पूर्ण सम्झौता कार्यान्वयन गरियोस्।
३. बैकुण्ठ अर्याल नेतृत्वमा नेपाल सरकारको उच्चस्तरीय छानबिन समिति टोलीले बुझाएको छानबिन समितिको प्रतिवेदनमा राखिएकै समयतालिका अनुसार लागू गरियोस्।
४. हालै नेपाल मेडिकल काउन्सिल र चिकित्सा शिक्षा आयोगले ‘स्वास्थ्य सेवा’ र ‘शैक्षिक गतिविधि’को अध्ययन प्रतिवेदन तुरुन्त सार्वजनिक गरियोस्।
५.पदाधिकारीहरू छनोट मापदण्ड तयार गर्दा चिकित्सा शिक्षामा अनुभवी कम्तीमा २ जना प्राध्यापकहरू संलग्न गरियोस्। सो मापदण्ड निर्धारण भइसकेपश्चात् पदाधिकारी छनोट विज्ञ प्राध्यापकहरूको समूहले नै गर्ने वातावरण सुनिश्चित गरियोस्।
६.उपकुलपतिको हकमा प्राध्यापक भए नभएको कागजात मन्त्रालयलाई बुझाइसकेको हुनाले कानुनी प्रक्रिया अघि बढाइयोस्।