काठमाडौं- विद्यार्थीहरुले त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान आइओएममा ताला लगाएका छन्। जनस्वास्थ्य विषयकोझ स्नातकोत्तर तहका विद्यार्थीले डिनको कार्यालय र परीक्षा महाशाखामा तालाबन्दी गरेका हुन्।
शोध परीक्षाका लागि विभेदकारी निर्णय गरेको र विद्यार्थीको शोध प्रस्ताव पास नगरी फेल गराउने नियत लिएको भन्दै विद्यार्थीहरुले ताला लगाएका हुन्। उनीहरुले शोध प्रस्ताव पास नगर्ने र समय पनि नदिई एकै पटक मौखिक परीक्षाको मिति परिवर्तन गरिएको भन्दै विरोध जनाएका छन्।
एमपिएच अन्तिम वर्षका विद्यार्थी शंकर देवकोटाका अनुसार विद्यार्थीहरुले पटक पटकको लिखित अनुरोध गर्दा पनि दुई महिनासम्म शोधपत्रको प्रस्ताव स्वीकृत नगरेको अवस्थामा शोधपत्रको भाइभाको परीक्षा लिने गरी मिति सार्वजनिक गर्नु गैरकानुनी भएकाले ताला लगाउन बाध्य भएको जानकारी दिए।
एमपिएच, एमपिएचएन एमपिएचइका विद्यार्थीहरुको संस्था नेपाल पब्लिक हेल्थ स्टुडेन्ट सोसाइटीले आइओएमको उक्त कार्य गैरकानुनी र अनैतिक भएको भन्दै विज्ञप्ति समेत निकालेको छ। अहिले सार्वजनिक भएको परीक्षा मिति बदर गरी संस्थानको इथिकल रिभ्यु कमिटिले भाइभा गर्ने निर्णय सहितको सूचना जारी नभएसम्मका लागि डिन कार्यालय र परीक्षा महाशाखाको कार्यालयमा तालबन्दी जारी रहने कुरा विज्ञप्तिमा उल्लेख छ।