काठमाडौं- बागमती प्रदेशमा स्वास्थ्य मन्त्रालय गठन गरिएको छ। प्रदेश सरकारले स्वास्थ्य मन्त्रालय गठन गरेसँगै मन्त्रालयका लागि आवश्यक दरबन्दीको प्रस्ताव समेत गरिएको छ।
मन्त्रालयका लागि विभिन्न १७ पदमा २५ जनाको दरबन्दी प्रस्ताव गरिएको छ। स्वास्थ्य मन्त्रालयको सचिवमा प्रशासन सेवा तर्फको सचिवको प्रस्ताव गरिएको छ। यसका साथै स्वास्थ्य मन्त्रालयमा चिकित्सकको समेत दरबन्दी राखिएको छैन।
स्वास्थ्य मन्त्रालय प्राविधिक मन्त्रालय भएकाले सचिवका लागि प्रशासन तर्फको सचिव राख्न नहुने र अन्य पदमा पनि चिकित्सकको दरबन्दी राख्नु पर्ने भन्दै स्वास्थ्य सेवा तर्फका कर्मचारीले विरोध गरेका छन्। सरकारी चिकित्सक संघदेखि स्वास्थ्य शिक्षा प्रवर्धन संघसम्म छन्।
‘मन्त्रालय प्रस्तावको विषय स्वागत योग्य छ तर स्वास्थ्य जस्तो निकै प्राविधिक तथा मानव जीवनसँऊ प्रत्यक्ष जोडिएको सेवालाई गैर स्वास्थ्य समूहको र स्वास्थ्य विधा बारे ज्ञान नै नभएका अप्राविधिक नेतृत्वको हातमा सुम्पिन खोज्नु हास्यास्पद, गैर जिम्मेवार एवं खेदपूर्ण छ,’ सरकारी चिकित्सक संघले विज्ञप्ति जारी गर्दै भनेको छ।
संघले स्वास्थ्य सेवाको दरबन्दी कायम गर्दा स्वास्थ्य सेवाको सदैव मुख्य स्तम्भ रहेको चिकित्सकहरुलाई नजर अन्दाज गरेको भन्दै आपत्ति जनाएको छ। ‘अनेक सेवा समूह राख्ने तर स्वास्थ्यमा सबैभन्दा बढी अध्ययन, अनुसन्धान गर्ने चिकित्सक समूहलाई भने नीति निर्माणको तहबाट नियोजित रुपमै अलग्याउनु निकै खेदपूर्ण छ,’ विज्ञप्तिमा भनिएको छ।
संघले गल्तीलाई सच्याउँदै स्वास्थ्य मन्त्रालयको सचिव स्वास्थ्य सेवाकै विशेषज्ञ चिकित्सक हुनुपर्ने र अन्य सेवा समूह जस्तै मेडिकल अधिकृतदिख विशेषज्ञ चिकित्सकसम्मलाई मन्त्रालय, विभाग देखि महाशाखा तथा शाखामा दरबन्दी राख्न माग गरेको छ।
यसैगरी, स्वास्थ्य सेवा प्रवर्धन संघ, बागमती प्रदेश स्वास्थ्य निर्देशनालय कर्मचारी, हेटौडा प्रादेशिक अस्पतालका चिकित्सक, स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, नेपाल जनस्वास्थ्य संघ लगायतले पनि स्वास्थ्य सेवा बाहेकको सचिव राख्ने प्रस्तावको विरोध गरेका छन्। उनीहरुले स्वास्थ्य सेवा बाहेकको सचिवको दरबन्दी सिर्जना गरिए स्वास्थ्य सेवाका कर्मचारीहरुले अस्पतालको आकस्मिक बाहेकका सेवा बन्द गर्न बाध्य हुने चेतावनी समेत दिएका छन्।
यसरी चेतावनी दिने स्वास्थ्यका कर्मचारीहरुमा स्वास्थ्य शिक्षा तथा प्रवद्र्धन संघ नेपालका अध्यक्ष बद्रीबहादुर खड्का, बागमती प्रदेश स्वास्थ्य निर्देशनालयकी निमित्त निर्देशक सावित्री पौडेल, हेटौडा प्रादेशिक अस्पतालका नि.प्र.मे.सु. डा. रामचन्द्र सापकोटा, स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका निमित्त निर्देशक बसन्त अधिकारी, नेपाल जनस्वास्थ्य संघ बागमती प्रदेशका अध्यक्ष सतिस विष्ट, बागमती प्रदेश स्वास्थ्य मन्त्रालयका डा. पुरुषोतम राज सेढाई, डा. रविन भुषाल, प्रदेश स्वास्थ्य निर्देशनालयका डा. अर्जुन सापकोटा, डा. सुरेश महर्जनलगायतका स्वास्थ्यका कर्मचारीहरु रहेका छन्।
प्रस्तावित दरबन्दी