काठमाडौं– चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) र वीर अस्पतालमा देखिएका समस्या समाधान गर्न गठित समितिले छलफल सुरु गरेको छ।
स्वास्थ्य मन्त्रालयमा सोमबार बसेको समितिको पहिलो बैठकले न्याम्स र वीर अस्पतालका समस्या समाधान गर्न विज्ञहरुसँग छलफल गरी राय माग गर्ने निर्णय समेत गरेको छ।
न्याम्स र वीर अस्पतालबीच लामो समयदेखि विवाद हुँदै आइरहेको छ। वीर अस्पतालमा न्याम्स र स्वास्थ्य सेवा तर्फका कर्मचारीहरु छन्। यसका साथै वीर अस्पताललाई छुट्टै केन्द्रीय अस्पताल बनाउनु पर्ने माग पनि लामो समयदेखि उठ्दै आइरहेको छ।
न्याम्स र वीर अस्पतालका विषयमा विवाद भइरहँदा अस्पतालको सेवा प्रवाहमा समस्याहरु देखिएको भन्दै अस्पतालका कर्मचारीहरु असन्तुष्टि जनाउदै आइरहेका छन्।
स्वास्थ्य मन्त्रालयले यी दुई निकायबीच देखिएका समस्या समाधान गर्न मन्त्रालयका प्रमुख विशेषज्ञ डा दिपेन्द्र रमण सिंहको संयोजकत्वमा समिति गठन गरेको थियो।
सो समितिमा कानुन मन्त्रालय, शिक्षा मन्त्रालय, नेपाल मेडिकल काउन्सिल, नेपाल चिकित्सक संघ, सरकारी चिकित्सक संघ लगायतका प्रतिनिधि सदस्य छन्।