काठमाडौं- माइनस तापक्रममा भण्डारण गर्नुपर्ने फाइजर र मोडर्ना खोप भण्डारका लागि कोभ्याक्स सुविधा अन्तर्गत नेपालमा चार वटा फ्रिजर आइसकेको छ। उक्त फ्रिजर टेकुमा राख्ने प्रक्रिया अगाडि बढिसकेको छ।
यही समयमा राष्ट्रिय आविष्कार केन्द्रले पनि कोभिडविरुद्धको खोप फाइजर र मोडर्ना भण्डारण गर्न मिल्ने अति चिसो तापक्रमवाला (अल्ट्रा लो ट्याम्प्रेचर) फ्रिजर ल्याएको छ। केन्द्रमा अमेरिकाबाट ४ वटा फ्रिजर आएको हो।
आविष्कार केन्द्रका अध्यक्ष महाविर पुनले माइनस ८६ डिग्री सेल्सियससम्मको तापक्रममा राख्नुपर्ने खोपहरु ती फ्रिजरमा सहजै भण्डारण गर्न सकिने जानकारी दिएका छन्।
'यी फ्रिजहरु कोरोनाको सहयोगार्थ भनेर अमेरिकामा संकलन गरिएको रकम बाट नै किनेर ल्याईएको हो। अति चिसो तापक्रम चाहिने खोपहरु राख्नको लागि यी फ्रिजहरु प्रयोग हुनेछन। ढुवानी र भन्सार सहित यिनीहरुको मुल्य २९ लाख २० हजार रुपैयाँ परेको छ,' उक्त विषयमा जानकारी दिँदै समाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्
उनका अनुसार ४८५ लिटर क्षमताका यी फ्रिजहरुरमा करिब १ लाख डोज फाइजर तथा मोडर्ना खोपहरु भण्डारण गर्न सकिने छ। फाइजर खोप माइनस ७० डिग्री र मोडर्ना खोप माइनस २० डिग्री तापक्रममा भण्डारण गर्नुपर्नै हुन्छ।
नेपाल सरकारको देशभरी सजिलैसंग यस्ता भ्याक्सिनहरु पुर्याउन अथवा भण्डार गरेर छिटो भन्दा छिटो खोप लगाउने काममा अलिकति भए पनि सहयोग गर्ने उद्देश्यले यी फ्रिजहरु ल्याइएको उनले जानकारी दिए।
उनका अनुसार कोरोनाको खोप लगाउने काम सकिए पछि यी फ्रिजहरु अन्य अनुसन्धानका कामहरुमा प्रयोग गरिने छ। 'भविष्यमा यि फ्रिजहरु नेपालमा भ्याक्सिन उत्पादन गर्ने अथवा क्यान्सर जस्ता रोगहरुको अनुसन्धानमा गर्ने काममा पनि प्रयोग गर्न सकिनेछ,' उनले लेखेका छन्।