काठमाडौं- संसदबाट समयमा नै अध्यादेश पारित हुन नसकेका कारण आजबाट स्वास्थ्यसँग तीन वटा महत्वपूर्ण अध्यादेश निष्क्रिय भएका छन्।
संसद चलेको ६० दिनभित्र प्रतिस्थापन विधेयक पारित हुनुपर्ने संविधानको व्यवस्था पालना हुन नसक्दा स्वास्थ्यको तीन महत्वपूर्ण अध्यादेश निस्क्रिय भएका हुन्। अध्यादेश निष्क्रिय हुँदा आगामी दिनमा काम अगाडि बढाउन समस्या हुने देखिएको छ।
कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश २०७८, औषधि (तेस्रो संशोधन) अध्यादेश २०७८ र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन अध्यादेश २०७८ निष्क्रिय भएका हुन्।
कोभिड संक्रमितको उपचारदेखि व्यवस्थापनमा सहज होस् भन्दै सरकारले कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश २०७८ ल्याएको थियो। उक्त अध्यादेश अनुसार नै वीर अस्पताललाई कोभिड-१९ युनिफाइड केन्द्रीय अस्पताल बनाइएको थियो। तर अध्यादेश निष्क्रिय भएसँगै अब अस्पतालको काम अगाडि बढाउन समेत कानुनी अड्चन आउने देखिएको छ।
यस्तै अध्यादेश समयमै पारित गर्न नसक्दा खोपको क्लिनिकल ट्रायलका लागि पनि समस्या आउने देखिएको छ। यसका साथै औषधि ऐनसम्बन्धी अध्यादेश निष्क्रिय हुँदा कोरोनाविरुद्धको खोप खरिद र आयात प्रक्रियामा पनि समस्या आउने देखिएको छ।
यसैगरी, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि बढीरहेको आक्रमणका घटना कम गर्न र दोषिलाई कारबाही गर्न ल्याइएको स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन अध्यादेश समेत निष्क्रिय भएको छ।