काठमाडौं- बल्खुस्थित बयोधा अस्पतालले गैरकानुनी काम गरेको पाएपछि नेपाल मेडिकल काउन्सिलले कारबाही प्रक्रिया अगाडि बढाएको छ। काउन्सिलले बिरामीको उपचारमा गैरकानुनी कार्य गरेको भन्दै बयोधा अस्पतालसँग स्पष्टीकरण सोधेको छ।
काउन्सिलले बयोधाले उपचारका क्रममा नेपाल मेडिकल काउन्सिलको नियमावली तथा नेपाल मेडिकल काउन्सिल कोड अफ इथिक्स र उपभोक्ता संरक्षण ऐन,२०७५ विपरित काम गरेको भन्दै कारबाही प्रक्रिया अगाडि बढाएको हो।
कारबाही प्रक्रिया अन्तर्गत काउन्सिलले अस्पतालसँग स्पष्टीकरणको पत्र पठाउँदै अस्पतालले गैरकानुनी कार्य गरिरहेको भनी सम्बन्धित निकायलाई अनुसन्धान तथा सिआइबीलाई कारबाहीको सिफारिस गर्नुपर्ने विषय पनि जानकारी गराएको छ।
२०७७ साल कात्तिक ९ गते बयोधा अस्पतालमा उपचारका लागि पुगेकी पल्लबी श्रेष्ठले आफ्नो उपचारको क्रममा लापरबाही भएको भन्दै अस्पतालविरुद्ध काउन्सिलमा उजुरी दिएकी थिइन्।
उनले एकजना डाक्टरको नामबाट ओपिडी टिकट काटी उपचार गराउन जाँदा अर्कै डाक्टरबाट उपचार भएको र उपचारका क्रममा पनि लापरबाही भएको भन्दै छानबिन गरी कारबाहीको माग समेत गरेकी थिइन्।
बिरामीको उजुरीपछि काउन्सिलले गरेको छानबिनमा बयोधा अस्पतालले एकजना विशेषज्ञको नाम देखाई अर्को चिकित्सकबाट बिरामी परीक्षण गराउने कार्य गरेको तथ्य प्रमाणबाट देखिएको भन्दै काउन्सिलले कारबाही प्रक्रिया अगाडि बढाएको हो।
यस्तो छ काउन्सिलले पठाएको पत्रको विवरण
श्री बयोधा अस्पताल,
बल्खु चोक काठमाडौं।
विषयः स्पष्ट पारिपठाउन हुन निर्देशन।
उपरोक्त विषयमा चङ्गाको धागो अल्झिएर खुट्टामा घाउ भए लगत्तै मिति २०७७–०७–०९ मा बयोधा अस्पतालमा उपचार गराउन गएकी पल्लबी श्रेष्ठको उपचारमा एकजना डाक्टरको नामबाट ओपिडी टिक काटी उपचार गराउन जाँदा अर्कै डाक्टरबाट उपचार भएको र उपचारका क्रममा पनि चरण लापरबाही भएकाले छानविन गरी कारबाहीको माग समेत राखि काउन्सिल समक्ष निज बिरामी पल्लवी श्रेष्ठले काउन्सिल समक्ष गर्नुभएको निवेदन उपरसत्यतत्य छानविन भएको व्यहोरा अवगत नै छ।
छानविनका सीलसीलामा निजको उपचारमा बयोधा अस्पतालले एकजना बिशेषज्ञको नाम देखाई अर्को चिकित्सकबाट बिरामी परीक्षण गराउने कार्य गरेको तथ्यप्रमाणहरुबाट देखिएको हुनाले यस्तो कार्य नेपाल मेडिकल काउन्सिलको नियमावली तथा नेपाल मेडिकल काउन्सिल कोड अफ इथिक्स र उपभोक्ता संरक्षण ऐन, २०७५ विपरित भएको देखिदा सो अस्पतालले गैरकानूनी कार्य गरिरहेको भनी सम्बन्धित निकायलाई अनुसन्धान तथा सिआइबी लाई कारबाहीको सिफारिस गर्नुपर्ने भनी अनुरोध गर्ने अवस्था सृजना भएकाले यसबारे स्पष्ट गरि पठाउनहुन मिति २०७८ भाद्र ९ गतेको काउन्सिलको पूर्ण बैठकको निर्णयानुसार निर्देशन गरिन्छ।
डा कृष्णप्रसाद अधिकारी
रजिष्ट्रार