काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालले कोभिड-१९ सँग जुध्नका लागि स्वास्थ्य पूर्वाधार, अक्सिजन र अन्य अत्यावश्यक स्वास्थ्य सामग्री आपूर्तिलाई उच्च प्राथमिकतामा राखेको बताएका छन्।
संयुक्तराज्य अमेरिकाका राष्ट्रपति जो वाइडेनले आज आयोजना गरेकाे ‘ग्लोबल कोभिड-१९ समिट’ मा प्रधानमन्त्री देउवाले भर्चुअल माध्यमबाट सम्बोधन गर्दै नेपालले कोभिड-१९ विरुद्धको खोपका लागि गरेका प्रयासबारे जानकारी गराएका हुन्।
उक्त सम्मेलन आयोजना गरेकामा राष्ट्रपति वाइडेनलाई धन्यवाद दिँदै उनले नेपालले कोभिड-१९ को रोकथाम र नियन्त्रणका लागि परीक्षणको दायरा बढाउँदै कोरोना भाइरसको अनुवांशिक परीक्षणकोसमेत विकास गरेको उल्लेख गरे।
'हामीले कोभिड-१९ बाट सुरक्षित रहनका लागि जनस्वास्थ्यका क्षेत्रमा सचेतना फैलाउने कामलाई प्राथमिकता दिएका छौँ', उनले भने। प्रधानमन्त्री देउवाले नेपालले कोभिड-१९ विरुद्धको खोप लगाउन लक्षित जनसङ्ख्यामध्ये ५० प्रतिशतलाई खोपको पहिलो मात्रा र एक तिहाइ जनसङ्ख्यालाई पूर्ण खोप लगाइसकेको जानकारी दिए। आगामी चैतसम्म लक्षित सबै नागरिकलाई खोपको पूर्ण मात्रा लगाउने सुनिश्चितता पनि भइसकेको उनको भनाइ छ।
उनले नेपालले कोभिड-१९ को परीक्षण तथा खोपको पहुँचको दायरालाई ग्रामीण क्षेत्रसम्म पनि पु¥याएको जानकारी पनि सो सम्बोधनमा गराए। प्रधानमन्त्री देउवाले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि सहयोग गर्ने विदेशी दाता राष्ट्र तथा साझेदार सबैलाई धन्यवाद दिँदै विश्वस्वास्थ्य सुरक्षा कोषमा योगदान गर्ने साझेदारप्रति समेत आभार प्रकट गरे।
रासस