काठमाडौं– स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सबै नागरिकलाई कोरोना भाइरस विरुद्धको खोप लगाउने भाका १ महिना सर्ने संकेत गरेका छन्। उमेरका हिसाबले खोप लगाउन योग्य सबै नागरिकलाई चैत मसान्तसम्म खोप लगाइसक्ने 'लक्ष्य' लिइएकोमा राज्यमन्त्री श्रेष्ठले भने वैशाख मसान्तसम्म सबैलाई खोप लगाइने बताएका छन्।
यसअघि यही वर्षको चैत मसान्तसम्म सबै नागरिकलाई खोप लगाइसक्ने बताउँदै आएका राज्यमन्त्री श्रेष्ठले बुधबार एक कार्यक्रममा भने आगामी वर्षको वैशाख मसान्तसम्म सबै नागरिकलाई खोप लगाइ सकिने बताए।
विश्व मुटु दिवसको अवसर पारेर बुधबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै राज्यमन्त्री श्रेष्ठले वैशाख मसान्तसम्म सबै नागरिकलाई खोप लगाइसक्ने बताए।
सरकारले यसअघि चैत मसान्तसम्म २ करोड ६५ लाख नागरिकलाई पूर्ण मात्रामा खोप लगाइसक्ने बताउँदै आएको थियो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समेत विज्ञप्ति नै निकालेर चैत मसान्तसम्म उमेरका हिसाबले योग्य सबै नागरिकलाई कोरोना विरुद्धको खोपको पूर्ण मात्रा लगाइसकिने बताउँदै आएको थियो।
राज्यमन्त्री श्रेष्ठले भने असोज महिनामा ३३ प्रतिशत जनता र वैशाख मसान्तसम्म सबै नागरिकलाई खोप लगाइने बताए।
मन्त्री श्रेष्ठले हाल दैनिक ३ लाख जनतालाई खोप लगाउने काम भइरहेको पनि दाबी गरे।