काठमाडौं- बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका विवादित उपकुलपति डा ज्ञानेन्द्र गिरीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रतिष्ठानका कर्मचारी तथा प्राध्यापकलाई स्पष्टीकरण सोध्ने तथा प्रतिष्ठानमा दीर्घकालीन असर गर्ने कुनै कार्य नगर्न भन्दै पत्र काटेको छ।
मन्त्रालयले प्रतिष्ठानका सहकुलपति समेत रहेका स्वास्थ्य राज्यमन्त्रीस्तरिय निर्णय अनुसार दैनिक प्रशासनिक र अनिवार्य दायित्व सिर्जना हुने आर्थिक कार्य बाहेक अन्य कार्य नगर्न निर्देशन सहितको पत्र पठाएको हो।
'प्रतिष्ठानका समस्याका विषयहरु छानबिनको प्रक्रियामा रहेकाले त्यहाँ प्रतिष्ठानका कर्मचारी तथा प्रोफेसरलाई स्पष्टीकरण सोध्ने तथा प्रतिष्ठानमा दीर्घकालीन असर पर्ने कुनै पनि कार्य नर्गन/नगराउन प्रतिष्ठान ऐन २०४९ को दफा २० (क) बमोजिम निर्देशित गरिएको व्यहोरा नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री एवं प्रतिष्ठानका सहकुलपतिस्तरको निर्णयानुसार अनुरोध छ,' मन्त्रालयले पठाएको पत्रमा भनिएको छ।
मन्त्रालयले उपकुलपति डा गिरीलाई यसअघि दैनिक प्रशासनिक र अनिवार्य दायित्व सिर्जना हुने आर्थिक कार्य बाहेकको कार्य नगर्न दिएको निर्देशन समेत सम्झाएको छ।
उपकुलपति डा गिरीले केही दिनअघि प्रतिष्ठानका प्राडा पारस कुमार पोखरेललाई वार्षिकोत्सव मनाएको भन्दै स्पष्टीकरण सोधेका थिए। उपकुलपतिले बिना कारण दुख दिने नियतले स्पष्टीकरण सोधेको भन्दै प्रतिष्ठानका कर्मचारी तथा विद्यार्थीले त्यसको विरोध गरेका छन्।
सरकारले गरेको छानबिनका क्रममा उपकुलपति गिरीले प्रतिष्ठानको हित विपरितका काम गरेको, प्राध्यापक नै नभइ झुटो विवरण पेश गरेको तथा अनियमिततामा संलग्न भएको देखिएको छ। सरकारले उक्त प्रतिवेदनका आधारमा उपकुलपति गिरीलाई कारबाही गर्ने प्रक्रिया अगाडि बढाइसकेको छ।