काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा प्रधानन्याधीश चोलेन्द्रशमशेर राणाले समेत मन्त्रीको कोटा मागेको विषय आइतबार सार्वजनिक भएको छ। सेतोपाटी अनलाइनले उक्त समाचार सार्वजनिक गरेपछि यस विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालया पनि चर्चा भयो।
अझ प्रधानन्यायाधीशको कोटामा मन्त्री हुन लागिएका भनिएका व्यक्तिको विषयमा स्वास्थ्य मन्त्रालयमा थप चर्चा चलेको थियो। स्वास्थ्यखबरको टोली मन्त्रालयमा पुग्दा प्रधानन्यायाधीशको कोटामा मन्त्री हुन लागेका भनिएका दीपक तिमल्सिना मेडिकल क्षेत्रमा कसरी जोडिएका छन् भन्ने विषयमा चर्चा भइरहेको थियो।
मन्त्रालयका कर्मचारीहरुका अनुसार प्रधानन्यायाधीशले मन्त्री बनाउनु पर्छ भनिएका तिमल्सिना स्वास्थ्य क्षेत्रमा लामो समयदेखि उपकरण तथा स्वास्थ्य सामग्रीसँगको व्यवासाय गर्दै आइरहेका व्यापारी विशाल पण्डितसँग नजिक छन्।
'सर्वोच्चमा १५ वर्षदेखि सूचना प्रविधिका क्षेत्रमा काम गर्दै आइरहेका हुन्। उनी मेडिकल व्यापारी पण्डितका मुद्दा मिलाउन पनि सक्रिय छन्। स्वास्थ्य क्षेत्रका व्यापारीसँगको नजिकको सम्बन्ध भएका कारण तिमल्सिनालाई स्वास्थ्य मन्त्रालयमा ल्याउन लबिइङ भइरहेको रहेछ,' मन्त्रालयक एक उच्च तहका कर्मचारीले भने।
मन्त्रालयमा तिमल्सिनाका विषयमा भएको विषयको बारेमा स्वास्थ्यखबरले बालुवाटार र राजनीतिक दलका नेतासँग पनि बुझ्ने प्रयास गरेको थियो। सो क्रममा तिमल्सिनाले प्रधानन्यायाधीशको कोटामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल मार्फत मन्त्री हुने तयारीमा रहेको बुझिएको छ।
'प्रधानन्यायाधीश र प्रचण्डलाई आफ्नो तर्फबाट कुरा राख्ने र माधव नेपाललाई विशाल पण्डित मार्फत कुरा गराउने गरी उहाँ अगाडि बढ्नु भएको छ,' बालुवाटार स्रोतले भन्यो, 'उहाँ (तिमल्सिना)लाई स्वास्थ्यमन्त्री बनाउनुपर्छ भन्ने विषयमा धेरै नै लबिइङ भइरहेको रहेछ।'