काठमाडौं– पछिल्लो समय बालबालिकाहरुमा आँखा स्वास्थ्यको समस्या बढ्दै गएको चिकित्सकहरुले बताएका छन्। नेपाल नेत्रज्योती संघले आयोजना गरेको विश्व दृष्टि दिवस सन् २०२१ को शुभारम्भ कार्यक्रममा बोल्दै आँखा विज्ञहरुले बालबालिकाहरुमा आँखा स्वास्थ्यको समस्या बढ्दै गएको बताएका हुन्।
चिकित्सकहरुका अनुसार शहरी क्षेत्रका बालबालबालिकाहरुमा दुरदृष्टि कमजोर हुँदै गएको पाइएको छ। कोरोना महामारीका कारण बालबालिकाहरुको अध्ययन समेत मोबाइल, कम्प्युटर, ल्यापटपमा सिमित हुँदा उनीहरुको नजिकको दृष्टि कमजोर हुँदै गएको छ।
चिकित्सकका अनुसार शहरी क्षेत्रका १५ प्रतिशत बालबालिकामा चस्मा प्रयोग गर्नुपर्ने अवस्था भएको तर चस्मा प्रयोग गर्नुपर्ने मध्ये करिब ५० प्रतिशतले चस्माको प्रयोग नै नगर्ने गरेको पाइएको छ।
संघका कार्यकारी निर्देशक शैलेश मिश्रले सरकारले आफ्नो नीति तथा कार्यक्रममा आँखा स्वास्थ्य तथा जाँचको कार्यक्रमलाई प्राथमिकता दिएको बताए।
उनले स्कुल जाने सबै बालबालिकाहरुको आँखा जाँच गराउने योजना रहेको उनले जानकारी दिए।
प्रत्येक नेपालीले आँखा स्वास्थ्य सेवा पाउनुपर्छ र आर्थिक अभावका कारण आँखाको उपचारबाट बञ्चित हुनु हुँदैन भन्ने सोचका साथ संघले आँखा स्वास्थ्यको क्षेत्रमा काम गरिरहेको उनले जानकारी दिए।