काठमाडौ- त्रिवि शिक्षण अस्पतालमा पहिलो पटक अनुहारको संरचना फेर्न शल्यक्रिया (अर्थोग्न्याथिक सर्जरी) गरिएको छ।
अस्पतालका अर्थोडोन्टिक विशेषज्ञ डा संजयप्रसाद गुप्ताले अर्थोग्न्याथिक सर्जरी अनुसारको संरचना बिग्रेर दुख पाएका बिरामीको लागि कोसेढुंगा सावित हुने बताए।
अनुहारको आकृति मिलाउन गरिने यो सर्जरी जटिल प्रकृतिको सर्जरी मानिन्छ। शिक्षण अस्पतालमा गत बुधबार एक किशोरीको उक्त सर्जरी गरिएको हो। उनलाई आइतबार नै डिस्चार्ज समेत गरिएको छ। अब शिक्षण अस्पतालमा यो सर्जरी नियमित हुने डा गुप्ताले जानकारी दिए।
शिक्षण अस्पतालको अर्थोडोन्टिक विभागले ओरल एन्ड म्याग्जिलोफेसियल सर्जरीको सहयोगमा उक्त सर्जरी गरेको हो।
उनले यो सर्जरी अति नै सुक्ष्म र संवेदनशील हुने भएकाले सही योजना बनाएर गर्न सकेमा मात्र सफल हुने बताए।