काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार गठन भएको ८८ दिनपछि मन्त्रिपरिषदले पूर्णता पाएको छ। प्रधानमन्त्री देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ मन्त्रिको नियुक्ति, हेरफेर र कार्यविभाजन गरेकी छिन्।
मन्त्रिपरिषद विस्तारसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पनि नयाँ मन्त्रि र राज्यमन्त्री नियुक्त भएका छन्।
स्वास्थ्य मन्त्रीमा नेकपा एकीकृत समाजवादीका विरोध खतिवडा र राज्यमन्त्रीमा भवानीप्रसाद खापुङ नियुक्त भएका छन्। उनीहरुको सपथ आजै हुने बताइएको छ।
स्वास्थ्यमा समाजवादीका मन्त्री र राज्यमन्त्री नियुक्त भएसँगै स्वास्थ्य राज्यमन्त्री रहेका उमेश श्रेष्ठलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा तानिएको छ।
नेकपा एकीकृत समाजवादीले बिहीबार रातिको निर्णयलाई परिमार्जन गर्दै सरकारमा सहभागी हुने नेताहरुको मन्त्रालय (जिम्मेवारी) हेरफेर गर्दै खतिवडालाई स्वास्थ्य मन्त्रीको रुपमा पठाउने निर्णय गरेको थियो।
यसअघि बिहीबार राति अध्यक्ष माधव कुमार नेपाल तथा महासचिव बेदुराम भुसालसहितका नेताहरुको बैठकले खतिवडाको नेतृत्वमा ४ मन्त्री र १ राज्यमन्त्रीसहित सरकारमा सहभागी हुने निर्णय गरेको थियो।
बिहीबार राति नेता रामकुमारी झाँक्रीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी दिने निर्णय भएको थियो। तर, राज्यमन्त्रीका रुपमा सरकारमा सहभागी हुने खापुङले स्वास्थ्य मन्त्रालयमा नै जान चाहेको र नेता झाँक्रीको मातहत 'बस्न नसकिने' भनेपछि बिहीबारको निर्णयमा हेरफेर गरिएको नेकपा एकीकृत समाजवादीका एक नेताले जानकारी दिए।
यस्तो छ विस्तारित मन्त्रिपरिषद
कांग्रेसबाट
गृह मन्त्रालय– बालकृष्ण खाँण
परराष्ट्र मन्त्रालय –नारायण खड्का
सञ्चार, सूचना तथा प्रविधि– ज्ञानेन्द्रबहादुर कार्की
कानुन न्याय तथा संसदीय मामिला– दिलेन्द्र बडु
महिला बालबालिका तथा ज्येष्ठ नागरिक– उमा रेग्मी
रक्षा मन्त्रालय – मिनेन्द्र रिजाल
खानेपानी मन्त्रालय – उमाकान्त चौधरी
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय – गजेन्द्र हमाल
जसपाबाट
भौतिक पूर्वाधार तथा यातायात – रेणु यादव
संघीय मामिला तथा सामान्य प्रशासन– राजेन्द्र श्रेष्ठ
वन तथा वातावरण– रामसहाय यादव
कृषि तथा पशुपन्छी विकास– प्रमोद साह
एकिकृत समाजवादीबाट
संस्कृति पर्यटन तथा नागरिक उड्डयन–प्रेम आले
श्रम रोजगार तथा सामाजिक सुरक्षा– कृष्णकुमार श्रेष्ठ (किसान)
सहरी विकास मन्त्रालय– रामकुमारी झाँक्री
स्वास्थ्य तथा जनसंख्या– विरोध खतिवडा
स्वास्थ्य राज्यमन्त्री – भवानीप्रसाद खापुङ
माओवादी केन्द्रबाट
अर्थ मन्त्रालय – जनार्दन शर्मा
शिक्षा विज्ञान तथा प्रविधि– देवेन्द्र पौडेल
ऊर्जा मन्त्रालय – पम्फा भुसाल
भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण– शशि श्रेष्ठ
युवा तथा खेलकुद मन्त्रालय– महेश्वर गहतराज