काठमाडौं- कपिलवस्तुको कृष्णनगर नगरपालिकामा फैलिएको झाडापखाला र वान्ताका कारण चार जनाको मृत्यु भएको छ।
संक्रमणका कारण ४५ वर्षिय पुरुषको घरमै, ७ वर्षिय बालक र ५ वर्षिया बालिकाको निजि क्लिनिक र २ वर्षिय बालकको अस्पताल ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार असोज १८ गतेदेखि कृष्णनगर नगरपालिकाको वडा नम्बर ७,८ र ९ मा फैलिएको झाडापखाला र वान्ताले संक्रमित भएका ८८५मध्ये अझै २५ जना बिरामी उपचाररत रहेका छन्। भने बाँकि ८१९ जना उपचारपछि घर फर्किएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल प्रकोप नियन्त्रणमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
संक्रमण रोकथाम तथा नियन्त्रणका लागि आवश्यक औषधि तथा स्वास्थ्य सामग्री स्थानीय, प्र्रदेश, संघीय सरकार र विश्व स्वास्थ्य संगठनलगायतका साझेदार संस्थाहरुको समन्वयमा व्यवस्थापन भइरहेको बताइएको छ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र लुम्बिनी प्रदेश अस्पतालमा विभिन्न मितिमा दिसाका नमुना परीक्षण गर्दा ५५ वर्षका २ जना, ७२ वर्षका एक पुरुष र ५ वर्षिया बालिकाको दिसाको नमुनामा हैजाकाे जिवाणु (कलेरा) र १५ मध्ये ९ नमुनामा काेलिफर्म ब्याक्टेरिया इ काेलाइ देखापर]को स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा कृष्ण पौडेलले जानकारी दिए।
उनले झाडापखाला लाग्दा शरीरको पानी खेर जाने हुनले जलवियोजन भएर मृत्युसम्म हुनसक्ने अवस्था आउने हुँदा जीवनजल घोलेर पटकपटक खुवाउन पर्ने बताए। एक लिटर सफा पिउने पानीमा १ प्याकेट जीवनजल घोलेर पटकपटक खुवाउन पर्छ।
झाडापखालाबाट बच्न खाना बनाउनु वा खानु अगाडि साबुन पानीले मिचिमिचि हात धुने, राम्ररी पाकेको खाना मात्र खाने तथा बासी वा सडेगलेका खानेकुरा नखाने, पानी उमालेर वा क्लोरिन प्रयोग गरेर मात्र पिउने, र खुला रुपमा दिसापिसाव नगर्ने र दिसा पिसाव गरिसकेपछि साबुनपानीले राम्ररी हात धुने गर्नुपर्छ।