काठमाडौं- नेपालमा अहिलेसम्म ३२ दशमलब ६ प्रतिशत व्यक्तिले कोरोनाविरुद्धको पूर्ण मात्रा खोप लगाएका छन्। अर्थात् ६४ लाख ८५ हजार ९२३ जनाले पूर्ण मात्रा खोप लगाएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ वर्ष माथिका ४३ दशमलब ६ प्रतिशत (८५ लाख ६२ हजार ३६५ जना) ले पहिलो मात्रा खोप लगाइसकेका छन्।
सरकारले कूल जनसंख्याको ७२ प्रतिशत अर्थात् दुई करोड १५ लाख जनसंख्यालाई कोरोना विरुद्धको खोप लगाउने लक्ष्य लिएको छ। जसमा वैदेशिक रोजगारी वा अन्य कारणले देशबाहिर रहेका र बालबालिकाहरुको संख्या भने समावेश गरिएको छैन।
सरकारले दसैं अघिसम्म लक्षित जनसंख्यामध्ये एक तिहाईलाई खोप लगाइसक्ने लक्ष्य राखेको थियो। नेपालमा अक्सफोर्ड एस्ट्राजेनेका, कोभिसिल्ड, भेरोसेल र जोन्सन एन्ड जोन्सन खोप प्रयोग भइरहेको छ।
१८ वर्षमुनिका बालबालिकाका लागि नेपालमा फाइजर र मोडर्ना खोप आउने भएको छ। फाइजरको एक लाख डोज खोप भने अबको केही दिनभित्र आउने बताइएको छ।