काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको सबै शक्ति कोरोनाको रोकथाम, नियन्त्रण र उपचारमा केन्द्रित गरेको बताएका छन्।
आफु नेतृत्वको सरकार गठन भएको एक सय दिनका उपलब्धिहरु सार्वजनिक गर्दै प्रधानमन्त्री देउवाले कोरोना नियन्त्रण तथा रोकथाममा सबै शक्ति केन्द्रित गरिएको बताएका हुन्। हाल कोरोनाको संक्रमण दर नियन्त्रण तर्फ अघि बढेको उनले बताए।
सार्वजनिक गरिएको उपलब्धिमा भनिएको छ, ‘सरकारले पहिलो दिनदेखि नै आफ्नो सबै शक्ति कोरोनाको रोकथाम, नियन्त्रण र उपचारमा केन्द्रित गरेर अहिले कोरोनाको संक्रमण दर ज्यादै न्यून अवस्थामा आएर नियन्त्रण तर्फ अघि बढेको छ।’
देशभर करिब ३३ प्रतिशत नागरिकलाई कोभिड १९ विरुद्धको दुवै डोज लगाइएको, असार मसान्तसम्म ४२ लाख ४८ हजार खोप उपलब्ध भएकोमा कार्तिक १ गतेसम्म १ करोड ५० लाख ४८ हजार २८८ डोज उपलब्ध गराएको कार्यक्रममा उल्लेख छ। साथै २ करोड ४१ लाख ५८ हजार ७६० डोज खोप आपूर्ति प्रक्रियामा छ। हालसम्म संक्रमितमध्ये ९७ दशमलव १ प्रतिशत संक्रमण मुक्त भइसकेका छन्।
देउवा नेतृत्वको सरकारले भाइरसको संभावित परिवर्तनलाई निगरानी गर्ने गरी जिन स्विक्वेन्सिङ नेपालमै हुने व्यवस्था मिलाएको छ। यसअघि जिन स्विक्वेन्सिङका लागि विदेश पठाउनुपर्ने बाध्यता थियो। अस्पतालहरुमा भेन्टिलेटर, आइसीयू र शय्याहरु थप गरिनुका साथै कोरोनाको परीक्षण पनि देशभर वृद्धि गरिएको सरकारको दाबी छ।
कोरोना नियन्त्रण र कोभिड १९ विरुद्धको खोप पहिलो प्राथमिकतामा रहेको उनले बताए। कोरोना संक्रमण दर ओरालो लागेसँगै विभिन्न पेशा व्यवसाय र मानिसको आवत जावत सहज भएको उनले बताए।