काठमाडौं - कपिलवस्तुको कृष्णनगर नगरपालिकामा देखिएको झाडापखाला सम्बन्धी समस्या कम हुँदै गएको छ।
हाल झाडापखालाका नयाँ बिरामी आउने संख्या दैनिक घट्दै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। कार्तिक ३ गते मात्र उक्त नगरपालिकामा झाडापखालाका १४ जना नयाँ बिरामी भेटिएका छन्।
यसअघि कार्तिक २ गते ३९, कार्तिक १ मा २८, असोज ३१ मा ३२, असोज ३० मा १८, असोज २९ र २८ मा २५/२५, असोज २७ गते २४ जना बिरामी भेटिएको मन्त्रालयले जनाएको छ। असोज २० गते एकैदिन सबैभन्दा धेरै १८४ जना नयाँ बिरामी भेटिएका थिए।
झाडापखाला प्रभावित कृष्णनगर नगरपालिका ७, ८ र ९ मा हालसम्म ९७७ जना बिरामी भइसकेका छन्। जसमध्ये ९४० जना निको भएका छन् भने ४ जनाको मृत्यु भएको छ। हाल ३७ जना उपचाररत रहेको मन्त्रालयले जनाएको छ। उक्त नगरपालिकामा असोज १८ गतेदेखि झाडापखाला तथा वान्ताको समस्या देखिएको थियो।