काठमाडौं - पूर्वी चितवनको रत्ननगर बकुलहर अस्पतालमा केही व्यक्तिले तोडफोड गरेका छन्। बिहीबार मध्यरातमा केही व्यक्तिको समूहले अस्पतालको इमरजेन्सीमा तोडफोड गरेका हुन्।
अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेण्ड डा विश्वबन्धु बगालेले ५/६ जनाको समूहले अस्पतालको इमरजेन्सीको ढोकाको सिसा फुटाएको बताए। उनीहरुले नर्सलाई अपशब्द प्रयोग गरी दुर्व्यवहार वहार गर्नुका साथै सुरक्षागार्ड माथि आक्रमण समेत गरेको उनले बताए।
उपचारको बहानामा अस्पताल आएपनि उनीहरु केही मिनेटमै अस्पतालमा तोडफोड गरेर निस्किएको उनले बताए। उनीहरुले मादक पदार्थ समेत सेवन गरेको उनले बताए।
उनले भने, ‘रातको करिब १२ बजे आएका ५/६ जनाको समूहले इमरजेन्सीको सिसा फुटाएका छन्। उपचारका लागि आएको भनिएपनि उनीहरु ३/४ मिनेटमै फर्किएका थिए। उनीहरुले मादक पदार्थ सेवन गरेको पनि देखिन्छ।’
तोडफोडमा संलग्नहरुको हाल प्रहरीले खोजी गरिरहेको मेसु डा बगालेले जानकारी दिए। दोषि माथि कडा कारबाही गर्नुपर्ने उनले बताए।