काठमाडौं– त्रिवि शिक्षण अस्पताल र वीर अस्पतालले प्रयोगशाला परीक्षणको रिपोर्ट अनलाइन मार्फत उपलब्ध गराउन थालेको छ। अब बिरामीले प्रयोगशाला परीक्षण रिपोर्ट लिन अस्पतालमा पुगेर घण्टौंसम्म लाइन बस्नुपर्ने बाध्यताको अन्त्य भएको अस्पतालले जनाएको छ।
त्रिवि शिक्षण अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले अस्पतालले अनलाइनबाटै बिरामीलाई प्रयोगशालाको रिपोर्ट उपलब्ध गराउन थालेको जानकारी दिए।
उनका अनुसार अब त्रिवि शिक्षण अस्पतालमा उपचारका लागि पुग्ने बिरामीले प्रयोगशाला परीक्षणको रिपोर्ट अनलाइन मार्फत प्राप्त गर्न सक्नेछन्। त्यसका लागि बिरामीले ल्याब परीक्षण शुल्क बुझाएको बीलमा भएको लिंक खोल्नुपर्छ। बीलमा भएको युजर नेम र पासवर्ड राखेर लगइन गर्नुपर्नेछ।
त्यसपछि खोलिएको पेजको माथिल्लो भागको बायाँ तर्फ रहेको सेलेक्ट स्याम्पल नम्बर अप्सनमा क्लिक गरेर बीलको मिति टाइप गरेपछि रिपोर्ट हेर्न सकिन्छ।
यसैगरी, वीर अस्पतालमा पनि प्रयोगशालासँग सम्बन्धित सबै रिपोर्टहरु अब अनलाइन मार्फत नै उपलब्ध गराउन थालिएको अस्पतालका निमित्त प्रमुख कार्यकारी अधिकारी डा भूपेन्द्र बस्नेतले जानकारी दिए।
बिरामीले फोन नम्बर वा इमेल आइडी ल्याब परीक्षणको क्रममा टिपाउनुपर्ने र ल्याब रिपोर्ट आएपछि सोही नम्बर वा इमेलमा रिपोर्टको लिंक उपलब्ध गराइने डा बस्नेतले बताए।
‘बिरामीले ल्याब परीक्षण गराउँदा फोन नम्बर दिएपछि रिपोर्ट हेर्न मिल्ने लिंक त्यही नम्बरमा म्यासेज आउछ, म्यासेजमा भएको लिंक खोलेपछि रिपोर्ट हेर्न सकिन्छ,’ निर्देशक डा बस्नेतले भने, ‘यस्तै इमेलमा चाहिन्छ भने इमेल आइडी रजिस्ट्रर गराएपछि रिपोर्ट इमेलमै आउँछ।’
उनले यो सेवा सुरु भइसकेकाले अब ल्याब रिपोर्ट प्राप्त गर्नकै लागि बिरामीले अस्पतालमा पुगेर लाइन बसिरहन नपर्ने बताए।
उनले वीर अस्पतालमा प्रयोगशाला परीक्षणका लागि बिहान ७ बजेदेखि नै सेवा दिइएको पनि जानकारी दिए। डा बस्नेतका अनुसार वीर अस्पतालमा प्रयोगशाला परीक्षणका लागि हरेक दिन ५ देखि ७ सय बिरामीहरु आउने गरेका छन्।
यसरी परीक्षण गराउने ५ देखि ७ सय बिरामीले अब अनलाइन मार्फत नै रिपोर्ट पाउन सक्नेछन्। रिपोर्टका आधारमा बिरामीहरु चिकित्सकसँग परामर्श तथा उपचारका लागि सिधैं जान सक्नेछन्।
डा बस्नेतले कोरोना भाइरस परीक्षणको पिसिआर गर्दा व्यक्तिको फोटो, क्युआरकोड सहितको रिपोर्ट २४ घण्टामै उपलब्ध गराउन थालेको पनि जानकारी दिए।