काठमाडौं- मुटुरोगीको उपचारमा सहयोग गर्ने उद्देश्यले डाक्टर गौरी श्रेष्ठ र डाक्टर सुवर्णमान श्रेष्ठले ५० लाख रुपैयाँ सहयोग गरेका छन्। उनीहरुले आफ्नो संयुक्त नामबाट कोष स्थापना गर्दै मुटुरोगीहरुको उपचारमा सहयोग गर्न ५० लाख रुपैयाँको सहयोग गरेका हुन्।
नेपाल हृदयरोग निवारण प्रतिष्ठानमा डा गौरी-सुवर्ण मुटुरोगी उपचार सहयोग कोष स्थापना गरिएको हो। सहयोग रकम र कोषका विषयमा बुधबार प्रतिष्ठान र डाक्टर दम्पतिबीच सम्झौता भएको छ।
कोषका तर्फबाट डा गौरी र प्रतिष्ठानका तर्फबाट प्रतिष्ठानका पूर्व अध्यक्ष तथा राष्ट्रिय कार्यक्रम निर्देशक डा प्रकाशराज रेग्मीले हस्ताक्षर गरेका छन्।
डा रेग्मीका अनुसार कोषको उक्त रकममध्ये ४० लाख रुपैयाँको ब्याज रकमबाट मुटुमा पेशमेकर राखी उपचार गर्नुपर्ने गरिब बिरामीलाई सहयोग गर्ने र बाँकी १० लाखको ब्याजबाट बालबालिकाको बाथमुटुरोग र जन्मजात मुटुरोगको निदान र उपचारमा सहयोग गरिने छ।
उनले कोषमा जम्मा गरिएको रकमबाट प्राप्त हुने ब्याजको १५ प्रतिशत रकम प्रतिष्ठानको सञ्चालन खर्चमा र १० प्रतिशत रकम कोष बृद्धिका लागि यसै कोषमा जम्मा गरिने जानकारी पनि दिए।