काठमाडौं- पूर्वी नवलपरासीस्थित मध्यविन्दु अस्पताल परिसरमा केही समयअघि निर्माण सम्पन्न भएको १५ शय्याको क्षयरोग प्रेषण केन्द्र सञ्चालनमा आएको छ। गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले बुधबा केन्द्रको औपचारिक उद्घाटन गरेका हुन्।
भवन निर्माण सम्पन्न भएलगत्तै कोरोनाको दोस्रो लहर आएका कारण उक्त भवनलाई कोभिड आइसोलेसन सेन्टरका रुपमा प्रयोगमा ल्याइएको थियो। तर अहिले संक्रमण घट्दै गएपछि उक्त भवनलाई क्षयरोग प्रेषण केन्द्रका रुपमा सञ्चालनमा ल्याइएको हो। उक्त भवन सोही प्रयोजनका लागि निर्माण गरिएको थियो।
उक्त भवन दामियन फाउण्डेशन बेल्जियमको सहयोगमा निर्माण भएको हो। भवन गत वैशाखमा नै निर्माण भइसकेको थियो। उक्त भवन निर्णमाका लागि करिब २ करोड रुपैयाँ खर्च भएको फाउण्डेशनका देशीय प्रतिनिधि डा सुशील कोइरालाले जानकारी दिए।
उनका अनुसार २५ शय्या क्षमताको उक्त भवनमा हाल १५ शय्याको क्षयरोग प्रेषण केन्द्र सञ्चालनमा ल्याइएको छ। उक्त भवनमा क्षयरोगका बहुऔषधि प्रतिरोध (एमडिआर) भएका बिरामीलाई आवासीय सेवा सहितको निशुल्क उपचार हुने छ।