काठमाडौं- नेपालमा थप ४ लाख ९२ हजार डोज कोभिडविरुद्धको खोप आएको छ। कोभ्याक्स सुविधा अन्तरगत र स्वीजरल्यान्ड सरकारले ४ लाख ९२ हजार डोज एस्ट्राजेनेका खोप नेपाललाई उपलब्ध गराएका हुन्।
स्वास्थ्य सेवा विभागका अनुसार कोभ्याक्स सुविधा अन्तर्गत ३ लाख ४८ हजार डोज र स्वीजरल्यान्ड सरकारले १ लाख ४४ हजार डोज उपलब्ध गराएका हुन्। उक्त खोप बुधबार राती नेपाल आइपुगेको हो। खोपलाई टेकुस्थित भण्डार केन्द्रमा राखिएको छ।
यो बाहेक नेपालमा कोभिसिल्ड, एस्ट्राजेनेका, भेरोसेल र जोन्सन एन्ड जोन्सन गरेर अहिलेसम्म (कात्तिक २२ गतेसम्म) २ करोड २० लाख ८० हजार ९३० डोज कोरोना विरुद्धको खोप आइसकेको छ।
नेपालमा हालसम्म कोभिसिल्ड/एस्ट्राजेनेका खोप भारत सरकारको अनुदान १० लाख डोज, भारतसँग खरिद गरिएको २० लाख डोज, भारतीय सेनाले नेपाल आर्मीलाई उपलब्ध गराएको एक लाख डोज, कोभ्याक्स फ्यासिलिटी मार्फत ३ लाख ४८ हजार डोज खोप आइसकेको छ। त्यसैगरी, भुटान सरकारको सहयोगमा २ लाख ३० हजार, जापान सरकारले कोभ्याक्स फ्यासिलिटी मार्फत १६ लाख १४ हजार ७४०, बेलायत सरकार मार्फत १ लाख ३१ हजार १२० र माल्दिभ्सबाट २ लाख एक हजार ६०० डोज एस्ट्राजेनेका खोप र जोन्सन एन्ड जोन्सन १५ लाख ३४ हजार ८५० खाेप नेपाल आइसकेको छ।
चीनसँग खरिद मार्फत एक करोड ३० लाख र अनुदानमार्फत ३५ लाख डोज भेरोसेल खोप नेपाल आइसकेको छ। कोभ्याक्स फ्यासिलिटि मार्फत एक लाख डोज फाइजर खोप पनि दसैं अघि नेपाल आइसकेको छ। यी खोपमध्ये नेपालमा १ करोड ६१ लाख ७३ हजार २४६ डोज खोप लगाइसकिएको छ।