काठमाडौं - कपिलवस्तुमा महामारीको रुपमा फैलिएको हैजा नियन्त्रणका लागि सरकारले कोलेरा खोप लगाउने भएको छ।
कपिलवस्तुको पाँच वटा नगरपालिकामा त्यहाँका स्थानीयलाई कोलेरा खोप लगाउन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। गाभीको सहयोगमा सरकारले २ लाख ५२ हजार ३६३ डोज खोप ल्याउन लागेको मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले जानकारी दिए।
उनका अनुसार उक्त खोप आइतबार नेपाल आउने भित्रनेछ। आगामी साता नै खोप लगाउने गरी तयारी भइरहेको उनले बताए।
उनले भने, ‘आइतबार कोलेरा खोप आउँछ। अर्को साता नै खोप लगाउने गरी हामीले तयारी गरिरहेका छौँ।’
उक्त ओरल भ्याक्सिन विश्व स्वास्थ्य संगठन, गाभी र युनिसेफको ग्लोबल स्टक पाइलमा रहेको खोप युनिसेफको सप्लाई डिभिजन नेटवर्कहुँदै नेपाल आउन लागेको हो।
कपिलवस्तुको कृष्णनगरपालिकामा ६० हजार १५६, महाराजगञ्जमा ५३ हजार १५६, शिवराजमा ६४ हजार ७७८, विजयनगरमा ३५ हजार ९०३ र यशोधरामा ३७ हजार ७८३ खोप डोज वितरण गरिने डा पौडेलले बताए।
कपिलवस्तुमा हालसम्म १ हजार ३६२ जनामा झाडापखाला सम्बन्धी समस्या देखिएको छ। जसमध्ये १ हजार ३५६ जना निको भएका छन् भने ६ जना उपचाररत छन्। हाल त्यहाँ झाडापखाला नियन्त्रणमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।