काठमाडौं - कर्णाली प्रदेश अस्पताल सुर्खेतमा दुई महिलाको ‘हिप जोर्नी’ को सफल प्रत्यारोपण गरिएको छ। बाथ रोगले हड्डी खिइएका दुवै महिलाको दाहिने खुट्टाको हिप जोर्नीको सफल प्रत्यारोपण गरिएको अस्पतालले जनाएको छ।
देलैखको चामुण्डा बिन्द्रासैनी नगरपालिका विशालाकी ४० वर्षीया रंगा विक र कालिकोटकी ६४ वर्षीया दीपा महतराको हिप जोर्नी प्रत्यारोपण गरिएको अस्पतालका कन्सल्टेण्ट अर्थोपेडिक सर्जन डा विकास केसीले बताए। कर्णाली प्रदेश अस्पतालमा हिप जोर्नीको जटिल खालको प्रत्यारोपण गरिएको यो पहिलो पटक भएको उनले बताए।
अस्पतालमै उक्त सेवा सुरु भएपछि बिरामीहरु उपचारका लागि काठमाडौं, बुटवल लगायत अन्य जिल्लामा जान नपर्ने उनको भनाई छ।
उनले भने, ‘यस किसिमको जटिल खालको शल्यक्रिया यही नै हुन थालेपछि यहाँका बिरामीहरुलाई सहज हुन्छ। यसको लागि काठमाडौं लगायत बाहिरी जिल्लामा जानुपर्ने बाध्यता पनि हटेको छ।’
हाल उनीहरुको स्वास्थ्य अवस्था पनि सामान्य रहेको उनले बताए।