काठमाडौं- नेपाल मेडिकल काउन्सिलको निर्वाचन आजबाट शुरु हुने भएको छ। आज र भोलि काठमाडौं उपत्यका बाहिरका १८ मतदान केन्द्रमा मतदान हुनेछ।
काउन्सिलको एक उपाध्यक्ष र आठ सदस्यका लागि ३५ जनाको चुनावी मैदानमा छन्। उपाध्यक्षका लागि तीन र आठ सदस्यका लागि ३२ जनाको उम्मेदवारी परेको छ।
उपाध्यक्ष पदका लागि डा शिवजी पौडेल, डा रामपरिक्षण यादव र डा प्रमोद कुमार यादवले उम्मेदवारी दिएका छन्।
उपत्यका बाहिर आज ६ स्थानमा मात्र मतदान हुने छ। ती ६ स्थानमा कोशी अस्पताल विराटनगर, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, प्रादेशिक अस्पताल जनकपुर, नारायणी अस्पताल वीरगञ्ज, भरतपुर अस्पताल चितवन र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान हुन्।
यी मतदान केन्द्रमा भोलि शनिबार पनि मतदान हुनेछ। शनिबार यी ६ सहित थप १२ मतदान केन्द्रमा मतदान हुनेछ। शनिबार मतदान हुने केन्द्रहरुमा मेची प्रादेशिक अस्पताल झापा, कोशी अस्पताल विराटनगर, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, गजेन्द्रनारायण सिंह अस्पताल राजविराज, लाहान अस्पताल, प्रादेशिक अस्पताल जनकपुर, नारायणी अस्पताल वीरगञ्ज, हेटौंडा अस्पताल, भरतपुर अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, लुम्बिनी प्रादेशिक अस्पताल, पाल्पा अस्पताल तानसेन, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, भीम अस्पताल भैरहवा, भेरी अस्पताल नेपालगञ्ज, प्रदेश अस्पताल सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र सेती प्रादेशिक अस्पताल हुन्।
काठमाडौं विश्वविद्यालय धुलिखेलमा १० गते मतदान हुनेछ भने नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी र स्थानीय विकास प्रतिष्ठान जावलाखेल ललितपुरमा १० र ११ गते मतदान हुने निर्वचन समितिले जनाएको छ।
यी हुन् उम्मेदवारहरु