काठमाडौं– नेपाल मेडिकल काउन्सिलले चिकित्सकहरुको नम्बर लगायतका विवरण दुरुपयोग गर्दै चुनावी प्रचारमा प्रयोग गर्ने उम्मेदवार चिकित्सकलाई कारबाही गर्ने तयारी गरेको छ।
चिकित्सकहरुले काउन्सिलका लागि उपलब्ध गराएको नम्बरमा केही उम्मेदवारहरुले नम्बर लगायतका विवरण काउन्सिललाई जानकारी नै नदिइ निकालेर चुनावका लागि मात माग्न प्रयोग गरेको पाइएको छ। उम्मेदवारहरुको यो कार्यलाई काउन्सिलबाट नम्बर लगायतका विवरण ‘चोरी’ गरेको भन्दै चिकित्सकहरुले नै विरोध गरेका छन्।
नम्बर लगायतका विवरण चोरी भएको र दुरुपयोग भएको भन्दै काउन्सिलमा चिकित्सकहरुले नै जानकारी गराएपछि काउन्सिलले यस विषयमा छानबिन अगाडि बढाएको हो।
काउन्सिलबाट बिना जानकारी नम्बर लगायतका विवरण लिएर आफ्नो चुनावी प्रचारमा प्रयोग गर्नेमा डा कालुसिंह खत्री र डा तोसिमा कार्की रहेका छन्। डा खत्री काउन्सिलका सदस्य हुन्। उनी अहिले पनि सदस्य पदमा चुनावी मैदानमा नै छन्। काउन्सिलबाट चिकित्सकको नम्बर लगायतका विवरण उनले नै बाहिर लगेको आरोप समेत चिकित्सकहरुले लगाएका छन्।यद्यपि काउन्सिलले यस विषयमा विवरण दुरुपयोग गर्ने चिकित्सकको नाम भने अझै सार्वजनिक गरेको छैन।
काउन्सिल स्रोतका अनुसार डा खत्रीले काउन्सिलबाट १५ हजारभन्दा बढी डाक्टरको नम्बर लिएर इसेवा मार्फत चुनावका लागि मत माग्ने काम गरेका छन्। उनीसँगै डा कार्कीले पनि सोही अनुसार मात मागेकी छिन्। (उनीहरुले मागेको मतको म्यासेज समाचारको तल राखिएको छ।)
काउन्सिलका रजिष्ट्रार डा कृष्ण अधिकारीले काउन्सिलबाट उम्मेदवार चिकित्सकले नम्बर लगायतका विवरण अन्यत्र लगेको विषयमा काउन्सिलले छानबिन समेत गरिसकेको बताए।
उनले काउन्सिलमा रहेको चिकित्सकहरुको विवरण बाहिर लगेका उम्मेदवार चिकित्सकलाई कस्तो कारबाही गर्ने भन्ने निर्णय गर्न आइतबार काउन्सिलको विशेष बैठक समेत बोलाइएको जानकारी दिए।
उनले भने, ‘यो विषयमा छानबिन पनि भइसकेको छ, आइतबार काउन्सिलको विशेष बैठक बोलाएर के कारबाही गर्ने भन्ने विषयमा निर्णय गर्दैछौं।’
चिकित्सकहरुले काउन्सिलको प्रयोगजनका लागि उपलब्ध गराएको नम्बर उम्मेदवार चिकित्सकहरुले प्रयोग गरेको विषय कस्तो कारबाही हुने भन्ने व्यवस्था काउन्सिलको ऐनमा प्रष्ट नभएको डा अधिकारीको भनाइ छ।
नयाँ खालको केस भएकाले काउन्सिलको आइतबारको बैठकले नै कस्तो कारबाही हुने भन्ने तय गर्ने डा अधिकारीले जानकारी दिए।
काउन्सिलको एक उपाध्यक्ष र ८ जना सदस्यका लागि आजबाट मतदान सुरु भएको छ। उपत्यकाबाहिर ६ स्थानमा आज मतदान भइरहेको छ।
केही उम्मेदवार चिकित्सकहरुले सोही निर्वाचनलाई लक्षित गरी आफ्नो चुनावी प्रचार गर्न काउन्सिलबाट नम्बर लगायतका विवरण ‘चोरी’ गरी सन्देश पठाएपछि काउन्सिलबाट चिकित्सकहरुको व्यक्तिगत विवरण चोरी भएको भन्दै सामाजिक सञ्जालमा विरोध भएको थियो।
चिकित्सकहरुले काउन्सिलमाथि नै प्रश्न उठाएपछि काउन्सिलले चिकित्सकहरुको विवरण चोरी गर्ने चिकित्सकमाथि छानविन सुरु गरी कारबाही प्रक्रिया अघि बढाउन लागेको हो।
हेरौं डा कालु र तोसिमाले इसेवा मार्फत काउन्सिलका उम्मेदवारहरुलाई पठाएको सन्देश