काठमाडौं- काठमाडौं र ललितपुरमा आजबाट १२ देखि १७ वर्षसम्मका बालबालिकालाई कोरोनाविरुद्धको फाइजर खोप दिइने छ। यसअघि दीर्घरोगलाई खोप दिइएको थियो। आइतबारदेखि मंगलबारसम्म भने १२ देखि १७ वर्ष उमेरका स्वस्थ बालबालिकालाई पनि दिने निर्णय भएको हो।
दीर्घ रोगीलाई खोप लगाएर खोप बचत भएपछि सरकारले स्वस्थ नागरिकलाई पनि खोप लगाउने निर्णय गरेको हो। काठमाडौं र ललितपुर जिल्लाका स्वास्थ्य कार्यालयका अनुसार यो तीन दिनमा खोप केन्द्रमा खोप लगाउन आउने यी उमेर समूहका सबैलाई खोप लगाइने छ। तर खोपको संख्या कम रहेकाले पहिला आउनेले पहिलो प्राथमिकता पाउने कार्यालयले जनाएका छन्।
ललितपुरमा पाटन अस्पतालमा खोप लगाइने छ भने काठमाडौंमा वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, निजामती सेवा अस्पताल, सहिद गंगालाल हृदय केन्द्र र वीरेन्द्र सैनिक अस्पतालमा खोप लगाइने छ।