काठमाडौं- नेपाल मेडिकल काउन्सिलले निर्वाचनका समयमा काउन्सिलका चिकित्सकहरुको विवरण चोरी भएको र दुरुपयोग भएको भन्ने आरोपका विषयमा आधिकारिक धारणा सार्वजनिक गरेको छ। तर काउन्सिलले उक्त विषयमा आरोप लगाइएका व्यक्तिका विषयमा भने केही पनि बोलेको छैन।
काउन्सिलले दर्तावाल चिकित्सकको नम्बर र विवरण कतै सेयर नभएको र गोप्य रहेको बताए पनि विगतमा एक आइटी कम्पनीको फोन म्यासेज सेवा लिने क्रममा काउन्सिलले ३७८८८ नम्बर प्राप्त गरेको भने स्वीकार गरेको छ। निर्वाचनका क्रममा काउन्सिलले विगतमा प्राप्त गरेको सोही नम्बर र सोही आइटी कम्पनीबाट डा कालुसिंह खत्री र डा तोसिमा कार्कीले मतदातामा म्यासेज गरेका छन्।
यो विषयमा भने काउन्सिल मौन बसेको छ। काउन्सिलले एसएमएस प्रकरणमा फोन नम्बरहरुको विवरण कसरी प्रवाह भएको थियो भन्ने विषय लगायतका विषयमा थप जानकारी प्राप्त गर्नका लागि सूचना तथा संचार प्रविधि केन्द्र, इन्जिनियरिङ्ग अध्ययन संस्थान, पुल्चोक, ललितपुरलाई अनुरोध भने गरेको जनाएको छ।
काउन्सिलले आइटी कम्पनीको नाम समेत लुकाएको छ। काउन्सिलले उक्त आइटी कम्पनीको नाम लुकाए पनि काउन्सिलका एक सदस्यले दिएको जानकारी अनुसार उक्त आइटी कम्पनीको नाम सिरान टेक्नोलोजीज प्राली हो। यही कम्पनीले नै काउन्सिलको वेभसाइटको काम पनि गर्दै आएको छ। (काउन्सिलको वेभसाइटमा सिरान टक्नोलोजीका नाम भएको फोटो समाचारको तल हेरौं) काउन्सिलको विवरण चोरी लगायतका विषय बाहिर आएपछि काउन्सिलको वेभसाइट समेत सोमबार रातीदेखि मंगलबार बिहानसम्म डाउन थियो। चिकित्सकहरुले यसलाई अर्थपूर्ण हिसाबले हेरेका छन्।
यस्तो छ काउन्सिलले सार्वजनिक गरेको धारणा
हालै केही अनलाइन पत्रिका तथा सामाजिक संजालमा नेपाल मेडिकल काउन्सिलले प्रयोग गर्ने गरेको एसएमएस प्रणालीबाट हजारौं व्यक्तिहरुलाई काउन्सिलका (पूर्व)पदाधिकारी संलग्न भै व्यक्तिगत प्रकृतिका सूचना (म्यासेज) गएको भन्ने व्यहोरा सार्वजनिक भएको सूचना प्रति नेमेकाको गम्भिर ध्यानाकर्षण भएको छ। प्रारम्भिक अनुसन्धानका आधारमा बुझ्दै जाँदा काउन्सिलमा दर्ताभएका चिकित्सकहरूलाई छोटो सूचना पठाउनका लागि विगतमा एक आइटी कम्पनीको फोन म्यासेज सेवा लिएको र सोही कम्पनी द्वारा एसएमएस म्यासेज तथा सूचना प्रवाहमा कोड नम्बर नम्बर ३७८८८ प्रयोग भएको तर सो नम्बर ने.मे.का.को लागि मात्र नभएर अन्य प्रयोजनका लागि समेत प्रयोग भएको पाइयो। दर्तावाल चिकित्सकहरुका कुनै विवरण वा कागजात कतै सेयर नभएको र पूर्णरुपमा गोप्य रहेको स्पष्ट गरिन्छ।
सोही एसएमएस प्रकरणमा फोन नम्बरहरुको विवरण कसरी प्रवाह भएको थियो भन्ने विषय लगायतका विषयमा थप जानकारी प्राप्त गर्नका लागि सूचना तथा संचार प्रविधि केन्द्र, इन्जिनियरिङ्ग अध्ययन संस्थान, पुल्चोक, ललितपुरलाई अनुरोध गरिएको छ। साथै नेपाल मेडिकल काउन्सिलको २०७८ मंसिर ५ गतेको आकस्मिक पूर्णबैठकले काउन्सिलमा रहने दर्तावाल चिकित्सकका व्यक्तिगत विवरणको सुरक्षा तथा उचित व्यवस्थापनका लागि के कसो व्यवस्था हुन उपयुक्त हुन्छ सुझाव प्रदान गर्न समेत सूचना तथा संचार प्रविधि केन्द्र, इन्जिनियरिङ्ग अध्ययन संस्थान, पुल्चोक, ललितपुरलाई अनुरोध गर्ने र सोही आधारमा पदाधिकारी तथा कर्मचारीहरू पदमा रहँदा वा नरहँदा पालना गर्नुपर्ने अचारसंहिता सहित दीर्धकालीन प्राविधिक तथा प्रशासनिक व्यवस्था सहितको एक कार्यविधि तयार पारी कडाइका साथ लागु गर्ने निर्णय गरेको व्यहोरा सबैलाई जानकारी गराइन्छ।
डा कृष्णप्रसाद अधिकारी
रजिष्ट्रार