काठमाडौं- नेपाल मेडिकल काउन्सिलको निर्वाचन अन्तर्गत आज काठमाडौं र ललितपुरमा मतदान हुँदैछ। उपत्यकाबाहिर दुई र उपत्यकाभित्र दुई गरी चार दिनसम्म हुने मतदानको आज अन्तिम दिन हो।
आज काठमाडौंमा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा र ललितपुरमा स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानमा मतदान हुनेछ।
काठमाडौं उपत्यकाबाहिर ३ र ४ गते मतदान भइसकेको छ भने धुलिखेलमा हिजो शुक्रबार मतदान भएको थियो। काठमाडौंको कमलादीमा र ललितपुरको प्रतिष्ठानमा हिजो पनि मतदान भएको थियो।
हिजो शुक्रबार मतदानमा १ हजार ९८६ मत खसेको छ। काउन्सिलको एक उपाध्यक्ष र ८ जना सदस्य पदका लागि भएको निर्वाचनमा धुलिखेल र काठमाडौं उपत्यकामा हिजो शुक्रबार १ हजार ९८६ मत खसेको निर्वाचन समितिकी सदस्य सचिव अनिता लामाले जानकारी दिइन्।
लामाका अनुसार नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौंमा १ हजार २५०, स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान जावलाखेलमा ५०८ र धुलिखेल अस्पतालमा २२८जनाले मतदान गरेका थिए। यसअघि काठमाडौं उपत्यका बाहिर मंसिर ३ र ४ गते भएको निर्वाचनमा ५ हजार १९ मत खसेको छ।
उपत्यकाबाहिर मेची प्रादेशिक अस्पताल झापा, कोशी अस्पताल विराटनगर, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, गजेन्द्रनारायण सिंह अस्पताल राजविराज, लाहान अस्पताल, प्रादेशिक अस्पताल जनकपुर, नारायणी अस्पताल वीरगञ्ज, हेटौंडा अस्पताल, भरतपुर अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, लुम्बिनी प्रादेशिक अस्पताल, पाल्पा अस्पताल तानसेन, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, भीम अस्पताल भैरहवा, भेरी अस्पताल नेपालगञ्ज, प्रदेश अस्पताल सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र सेती प्रादेशिक अस्पतालमा मतदान केन्द्र थिए।