काठमाडौं- विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले नेपालसहित दक्षिणपूवी एसियाका देशलाई सर्तकता बढाउन अनुरोध गरेको छ।
अफ्रिकन देशहरुमा देखिएको कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ देखिएसँगै डब्लूएचओले दक्षिणपूर्वी देशहरुलाई सर्तकता अपनाउन अनुरोध गरेको हो। नयाँ भेरियन्ट देखिएसँगै विश्वव्यापी रुपम नयाँ भेरियन्ट संक्रमित केस बढ्दै गएको र यसले चिन्ता बढाएको डब्लूएचओले जनाएको छ।
डब्लूएचओको दक्षिणपूर्वी एसिया क्षेत्रीय निर्देशक डा पुनम क्षेत्रपाल सिंहले आज प्रेस विज्ञप्ति जारी विश्वव्यापी रूपमा अन्यत्र संक्रमितको संख्या बढ्दै गएको भन्दै एसिया क्षेत्रका देशहरूलाई निगरानी बढाउन, सार्वजनिक स्वास्थ्य र सामाजिक उपायहरूलाई सुदृढ गर्न र खोपको कभरेज बढाउन अनुरोध गरेकी छिन्।
‘हाम्रो क्षेत्रका धेरैजसो देशहरूमा कोभिड१९ का केसहरू घट्दै गएको भए तापनि विश्वका अन्यत्रका केसहरूमा भएको वृद्धि भइरहेको छ। अझ चिन्ताको विषय नयाँ भरियन्टको पुष्टि हुनु हो। भाइरस विरुद्ध जोगाउन र यसको फैलावट रोक्न हाम्रा मापदण्ड अपनाउन छोड्नु हुँदैन,’ क्षेत्रीय निर्देशक डा क्षेत्रपाल सिंहले भनिन्।
उनले जिन सिक्वेन्सिङद्वारा केसहरुको पत्ता लगाई निगरानी बढाउन र त्यसका आधारमा अन्तर्राष्ट्रिय यात्राको विवरण अद्यावधिक गरी जोमिख मूल्यांकन गर्न पनि अनुरोध गरेकी छिन्।
दक्षिणपूवी एसियामा हालसम्म कूल जनसंख्याको ३१ प्रतिशत व्यक्तिहरुले पूर्ण खोप र २१ प्रतिशतले एक मात्रा खोप लगाएको उल्लेख गर्दै क्षेत्रीय निर्देशक क्षेत्रपालले अझै ४८ प्रतिशत अथात् एक अर्ब व्यक्तिहरुले कम्तिमा एक मात्रा खोप पाउन बाँकि रहेको जानकारी दिएकी छन्।
उनले खोपले भाइरसका कारण गम्भीर रोग र थप फैलन सक्ने जोखिम कम हुने भएकाले खोप कार्यक्रमलाई निरन्तरता र सावधानी बढाउनुपर्ने बताएकी छन्।
डब्लूएचओको टेक्निकल टीमले नयाँ भेरियन्टको संक्रामक क्षमता, निदान र उपचारबारे थप अनुसन्धान गरिरहेको समेत जनाएको छ।
संक्रमितको संख्या कम हुँदैमा महामारी समाप्त भइनसकेको भन्दै क्षेत्रीय निर्देशक क्षेत्रपालले चाडपर्व र उत्सवहरुमा सबै स्वास्थ्यका मापदण्ड पालना गर्न, भीडभाड नगर्न र जमघट कम गर्न आग्रह गरेकी छन्।